बर्खाको समयमा जताततै हराभरा हुने, खेतबारीमा नयाँ आशा जगाउने र पानीका स्रोतहरू बढ्ने गर्दछ । तर यही मौसमसँगै विभिन्न संक्रामक रोगहरूको जोखिम पनि उल्लेखनीय रूपमा बढ्ने गर्छ । वर्षाका कारण हुने दूषित खानेपानी, फोहोर व्यवस्थापनको कमजोरी तथा लामखुट्टेको वृद्धि जस्ता कारणले डेंगु, मलेरिया, हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ए र इ लगायतका रोग फैलिने सम्भावना उच्च हुन्छ । दूषित पानी, अस्वस्थ खाना र भीडभाडयुक्त बसोबासले रोगको महामारी फैलाउने सम्भावना बढेको छ । वर्षायाममा पानीका मुहानहरु प्रदूषित हुने हुँदा उमालेर मात्र पिउनुपर्ने, साबुनपानीले हात धुने, सफा शौचालय प्रयोग गर्ने, ताजा खानेकुरा सेवन गर्नेजस्ता आधारभूत सावधानी अपनाउनुपर्ने आवश्यकता हुन्छ । बर्खालाई केवल प्राकृतिक सौन्दर्यको मौसमका रूपमा होइन, स्वास्थ्य सुरक्षाको दृष्टिले पनि विशेष सतर्कता अपनाउनुपर्ने समयका रूपमा लिनुपर्दछ ।
रोग नियन्त्रणका लागि सरकार, स्थानीय तह र स्वास्थ्य निकायले समयमै पूर्वतयारी गर्नु आवश्यक छ । स्वच्छ खानेपानीको व्यवस्था, फोहोरको उचित व्यवस्थापन, लामखुट्टे हुर्किने स्थानको नियन्त्रण, जनचेतनामूलक अभियान तथा आवश्यक औषधि र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न सकिए जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ । विद्यालय, सामुदायिक संस्था र सञ्चारमाध्यमले पनि जनचेतना फैलाउन प्रभावकारी भूमिका खेल्नुपर्छ । व्यक्तिगत स्तरमा पनि सावधानी उत्तिकै महत्वपूर्ण छ । उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र पिउने, खाना सफा र ताजा खाने, साबुनपानीले नियमित हात धुने, घर तथा वरपर पानी जम्न नदिने, लामखुट्टेबाट बच्न झुल वा रिपेलेन्ट प्रयोग गर्ने र ज्वरो, पखाला वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुग्ने बानीले धेरै रोगबाट बच्न सकिन्छ । बर्खा आफैँ समस्या होइन, समस्या हाम्रो लापरवाही र अपर्याप्त तयारी हो । समयमै अपनाइने सानो सावधानीले ठूलो स्वास्थ्य संकट टार्न सकिन्छ । विपद् व्यवस्थापन र रोग नियन्त्रणलाई दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउनुपर्छ । अस्थायी राहतले मात्र समस्या समाधान हुँदैन । सुरक्षित बसोबास, स्वास्थ्य पूर्वाधार, स्वच्छ खानेपानीको पहुँच, जनचेतना र शिक्षा दीर्घकालीन समाधानका आधार हुन् । विपद् व्यवस्थापनलाई स्वास्थ्य सुरक्षासँग जोडेर दीर्घकालीन नीति बनाउन सकिए मात्र नागरिकको जीवन सुरक्षित हुन्छ ।

