पाल्पा, आषाढ शुक्ल एकादशीका दिन शनिबार घरघरमा तुलसीको बिरुवा रोपिएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मठमा तुलसीको बिरुवा रोप्ने परम्परा छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मठमा राखिएको दलका बिरुवा यस मठमा सारिएको हो ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको संस्कृतिविद्हरूको भनाइ छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको बिरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन सा· गर्ने शास्त्रीय परम्परा रहेको छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । सामान्य घाँटी दुखेको निको बनाउनेदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउनेसम्ममा तुलसी उपयोगी मानिन्छ । तुलसी आफैमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ ।
अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ नै घरको वातावरण राम्रो बनाउँछ । तुलसीको एक÷दुई पात नियमित रुपमा सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्छ । चिसोका कारण ज्वरोले सताएको बेला तुलसीको पातमा अदुवाको केही टुक्रा मिसाएर उमाल्नुपर्छ । त्यसलाई सेवन गर्दा रुघा ज्वरो ठिक हुन्छ । तुलसीसँग जोडिएका यस्ता थुप्रै उपचार विधिहरू छन् ।


