पाल्पा, हिन्दू धर्मावलम्बीहरूले आजदेखि चार महिनासम्म चल्ने पवित्र चतुर्मास व्रत आरम्भ गर्दै छन् । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म रहने यस अवधिलाई धार्मिक साधना, उपासना, संयम र आत्मशुद्धिको विशेष समयका रूपमा मानिन्छ । धार्मिक मान्यताअनुसार यस अवधिमा भगवान् विष्णु योगनिद्रामा रहने विश्वास छ । चतुर्मासभर भक्तजनले नियमित पूजा–आराधना, जप, ध्यान, व्रत, दान तथा सत्कर्ममा विशेष ध्यान दिने गर्छन् ।
कतिपय श्रद्धालुले प्याज, लसुन, मासु तथा अन्य तामसिक भोजन त्याग गरी सात्विक आहार ग्रहण गर्ने परम्परा पनि रहेको छ । देशभरका विष्णु, नारायण तथा कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ । मठ–मन्दिरहरूमा विशेष पूजा, भजन–कीर्तन, धार्मिक प्रवचन तथा सामूहिक आरतीका कार्यक्रम आयोजना गरिएका छन् । धर्मविद्हरूका अनुसार चतुर्मासलाई आत्मअनुशासन, सदाचार र आध्यात्मिक उन्नतिको अवसरका रूपमा लिइन्छ। यस अवधिमा गरिने व्रत, पूजा, दान र सेवा–भावले धार्मिक तथा आध्यात्मिक लाभ प्राप्त हुने विश्वास रहिआएको छ । चातुर्मास्यव्रत वैष्णव, शैव सबै सम्प्रदायका मानिसले गर्नुपर्दछ । चार महिनामा भगवान् विष्णु क्षीर सागरमा शयन गर्नु हुने भएकाले विवाह, व्रतबन्ध, गृहप्रवेश लगाएत अन्य शुभ कार्य गरिँदैन । धार्मिक दृष्टिले यी चार महिना भगवान् विष्णुको निद्राकाल मानिन्छ ।
यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन्, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन् । यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू–मण्डल (पृथ्वी)का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन् । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन्, सबै पाप नष्ट हुन्छन् तथा भगवान् हृषीकेश प्रसन्न हुन्छन् । सबै एकादशीका दिन भगवान् विष्णुको पूजा तथा आराधना गरिन्छ । आजको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि–विधानले पूजा गर्ने चलन छ ।
यस दिन उपवास गरेर भगवान् विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शंख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र पहेलै दोसल्लाले सजाउने काम हुन्छ । पंचामृतद्वारा स्नान गराएर, तत्पश्चात भगवानको धूप, दीप, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवानलाई पान (ताम्बूल), सुपारी (पुंगीफल) अर्पित गरेपछि निम्न मन्त्र द्वारा स्तुति गर्ने परम्परा रही आएको छ । यसरी प्रार्थना गरेर भगवान् विष्णुको पूजा गर्नु पर्छ । चतुर्मास आगामी कार्तिक शुक्ल एकादशीका दिन समापन हुनेछ ।


