तुलसी प्राकृतिक, पवित्र तथा बास्नादार वनस्पति हो । यसले सबैभन्दा बढी अक्सिजन फ्याँक्ने गर्दछ । हिन्दु धर्मावलम्बीहरूको घरको आँगनमा सानो मन्दिर (मठ) बनाई तुलसी रोप्ने गरिन्छ । तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घरआँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गदर्छ । तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ । घरमा तुलसीको मठ राखे सुख–समृद्धि हुने धार्मिक मान्यता त छँदैछ, यसको लाभ वैज्ञानिक रूपमा समेत प्रमाणित छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ ।
तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी पूजा आराधना गर्ने गरिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । आधुनिक जीवनशैलीका कारण यस्ता परम्परागत अभ्यासहरू क्रमशः हराउँदै गएका बेला तुलसी रोप्ने परम्पराको महत्वलाई पुनः सम्झनु आवश्यक छ । धार्मिक विश्वासअनुसार तुलसीलाई भगवान विष्णुको प्रिय मानिन्छ । बिहान–बेलुका तुलसीमा जल चढाउने, दीप बाल्ने तथा पूजा गर्ने चलनले परिवारमा आध्यात्मिक वातावरण सिर्जना गर्छ । तुलसी विवाहजस्ता सांस्कृतिक परम्पराले पनि हाम्रो मौलिक संस्कृतिलाई जीवन्त बनाइरहेका छन् । यस्ता परम्पराले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र पहिचानसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्छन् । तुलसीको महत्व धार्मिक पक्षमा मात्र सीमित छैन । आयुर्वेदमा तुलसीलाई बहुउपयोगी औषधीय वनस्पतिको रूपमा वर्णन गरिएको छ । यसको पात र डाँठ विभिन्न स्वास्थ्य समस्यामा उपयोग गरिन्छ । साथै, तुलसीले वातावरणलाई स्वच्छ राख्न, हरियाली बढाउन र जैविक विविधताको संरक्षणमा समेत योगदान पु¥याउँछ । घर–आँगनमा तुलसी रोप्दा प्राकृतिक सौन्दर्य बढ्नुका साथै स्वच्छ र स्वस्थ वातावरण निर्माणमा पनि सहयोग पुग्छ । तर पछिल्ला वर्षहरूमा बढ्दो सहरीकरण, खुला आँगनको अभाव र आधुनिक जीवनशैलीका कारण तुलसी रोप्ने तथा यसको संरक्षण गर्ने परम्परा कमजोर बन्दै गएको छ । कतिपय युवापुस्ताले यसको सांस्कृतिक र वैज्ञानिक महत्वबारे पर्याप्त जानकारी पनि पाएका छैनन् । यदि अहिले नै यस्ता परम्पराको संरक्षणमा ध्यान नदिने हो भने हाम्रो मौलिक सांस्कृतिक सम्पदा क्रमशः लोप हुने खतरा रहन्छ । त्यसैले तुलसी रोप्ने परम्परालाई केवल धार्मिक संस्कारका रूपमा होइन, वातावरण संरक्षण, स्वास्थ्य प्रवद्र्धन र सांस्कृतिक पहिचान जोगाउने अभियानका रूपमा पनि अघि बढाउन आवश्यक छ ।

