गुल्मी, गुल्मी अस्पताल तम्घासमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु गरिएको छ । पछिल्लो समय विभिन्न प्रकारका विशिष्टिकृत सेवा प्रदान गर्न सुरु गरेको अस्पतालले इकोकार्डियोग्राफी स्क्रिनिङ अर्थात् इको सेवा समेत प्रारम्भ गरेको हो ।
यो सेवा सुरु भएसँगै अब यहाँका मुटुका बिरामीले आफ्नै ठाउँमा सेवा पाउने भएका छन् । अस्पताललाई च्वाइस ह्युमानिटेरियनले उक्त इकोकार्डियोग्राफी मेसिन सहयोग गरेको थियो । इकोकार्डियोग्राफी सेवाअन्तर्गत बिरामीको मुटुमा समस्या भए÷नभएको पत्ता लगाउन सकिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा जनरल फिजिसियन विशेषज्ञ डा. विभव बस्यालले बताए ।
उनका अनुसार नयाँ सेवाले मुटुसम्बन्धी रोगको समयमै पहिचान गर्न, जटिल बिरामीलाई आवश्यक परेमा उच्चस्तरीय अस्पतालमा रेफर गर्न तथा उपचार सम्भव भएका बिरामीलाई गुल्मी अस्पतालमै सेवा दिन सहज भएको छ । यसअघि अस्पतालमा रहेको पुरानो र सानो मेसिनबाट मुटुसम्बन्धी धेरै समस्या पहिचान गर्न कठिन थियो । नयाँ अत्याधुनिक मेसिनमार्फत मुटुको बनोट, कम्पन तथा अन्य जटिल समस्या प्रभावकारी रूपमा परीक्षण गर्न सकिनेछ । अस्पतालले हरेक दिन बिहान ११ बजेदेखि यो सेवा उपलब्ध गराउने जनाएको छ । डा. बस्यालका अनुसार यस सेवाबाट मुटुको रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न, जन्मजात मुटुसम्बन्धी समस्या भएका बिरामीलाई समयमै उपचारमा लैजान तथा जटिलता कम गर्न सहयोग पुग्नेछ ।


