पाल्पा, नेपाली समाजमा एक समय व्यापक रूपमा प्रचलित रहेको ‘लुतो फाल्ने’ परम्परा पछिल्ला वर्षहरूमा विस्तारै लोप हुँदै गएको छ । विशेषगरी सहरीकरण, आधुनिक जीवनशैली, जनचेतनाको वृद्धि र नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रतिको घट्दो रुचिका कारण यो चलन हराउँदै गएको हो ।
परम्पराअनुसार साउने संक्रान्तिको साँझ गाउँघरका मानिसहरूले घरमा बालिएको आगो वा दियोबाट सल्काइएको मशाल लिएर गाउँको चौतारो, खोल्सो वा चोकसम्म पुगेर “लुतो जाऊ, रोग जाऊ” भन्दै प्रतीकात्मक रूपमा लुतो फाल्ने गर्थे । यसले छालासम्बन्धी रोग, दुःख–कष्ट र नकारात्मक शक्तिहरू टाढा हुने जनविश्वास रहिआएको थियो । पाल्पाका ज्येष्ठ नागरिकहरूका अनुसार केही दशकअघिसम्म यो चलन गाउँभरिका बालबालिका र युवाको सक्रिय सहभागितामा मनाइन्थ्यो । अहिले भने कतिपय गाउँमा सामान्य रूपमा सम्झिने मात्र गरिएको छ भने धेरै स्थानमा यो परम्परा पूर्ण रूपमा हराइसकेको छ ।
२० वर्षअघि ‘लुतो लैजा, पीलो लैजा, रोग लैजा भन्दै, चिच्याउँदै’ माथागढी गाउँपालिका– ४ झडेवाकी निवासी ७३ वर्षीया आरती पराजुलीले साउने संक्रान्तिका दिन लुतो फालेको सम्झिन्छिन् । तर त्यो संस्कृति विस्तारै हराउँदै गएको छ । “२० वर्ष भयो लुतो फाल्न छोडेको पहिला कति रमाइलो गर्दै फालिन्थ्यो अहिले हराउँदै गयो । खै यो जोगाउनु पर्ने रीति हो, तर अहिले लोप भयो, बिर्सिइयो”– उनले भनिन् । ‘मेरो लुतो लैजा’ भन्दै आँगोको राँको फाल्ने गरेको सम्झना बगनासकालीको पोखराथोककी ६९ वर्षीया सीता गहिरेलाई पनि अहिले ताजै छ । लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता वनस्पतिहरु खोजेर ल्याइन्थ्यो र घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर ति वनस्पती राखिन्थ्यो, साँझा घर छेउबाट आगाको अगुल्टो फाल्दै पल्लो गाउँकाहरुलाई मेरो लुतो लैजा भन्दै, चिच्याइन्थ्यो’, उनले भनिन्, “अचेलकालाई त्यसको महत्व नै थाहा छैन ।” लुतो फाल्ने संस्कृति विस्तारै हराउँदै गएकोमा तानसेन– ७ काजीपौवाका रोमबहादुर रायमाझीको गुनासो छ ।
उनलाई पनि विगतमा आगाको अगुल्टो फाल्दै लुतो फाले झलझली याद आउँछ । “हामी साना साना केटाकेटी हुँदा कति रमाइलो गर्दै लुतो फालिन्थ्यो तर अहिले त त्यस्तो कतै देखिदैन ।” रायमाझीले भने । अहिले त छोरा, नातीहरुले लुतो फालेको कहिल्यै नदेखेको उनको भनाई छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आएपनि पछिल्लो समय विस्तारै कम हुँदै गएको छ । नयाँ पुस्ताले त्यसतर्फ खासै चासो नदेखाउँदा यो संस्कृतिमा कमी आएको हो । .साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामीण समाजका लागि आज विशेष दिन हो । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिइन्छ । साउने संक्रान्तिका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ ।
सोही मान्यता अनुरुप नेपाली समाजमा ‘लुतो फाल्ने’ चलन चलिआएको हो । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापी छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायम रहेको हो । तर हिजो आज भने यो चलन विस्तारै बिर्सिदै जान थालिएको छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भिड लाग्छ ।


