पाल्पा, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । भानुभक्तको योगदानको स्मरण गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने गरिएको हो ।
यस अवसरमा साहित्यिक संस्था, विद्यालय, क्याम्पस तथा विभिन्न सामाजिक संघ–संस्थाले कविता वाचन, साहित्यिक गोष्ठी, विचार–विमर्श, सांस्कृतिक कार्यक्रम तथा भानुभक्तको प्रतिमामा माल्यार्पणलगायत कार्यक्रम आयोजना गरेका छन् । संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम नेपालीमाझ पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली साहित्यका आदिकवि मानिन्छ । उनका घाँसी, बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला लगायतका कृतिहरू नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन् । भानु जयन्तीका अवसरमा विभिन्न व्यक्तित्वहरूले आदिकवि भानुभक्तको योगदानको स्मरण गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउने गरेका छन् । खासगरीे भानु जयन्तीमा देखिने तामझामले भानुभक्तलाई व्युँत्याएको भान हुन्छ, । विशेषतः काठमाडौं जस्ता ठूला शहरहरुमा भानु जयन्तीका दिन बालबालिकाहरुलाई भानुभक्तको ‘गेटअप’मा उतार्ने गरिन्छ । भानुभक्तलाई सम्झनका लागि देश तथा विदेशमा समेत यस्तै काइदा अपनाइने गरिन्छ ।
यो तामझामले भानु जयन्तीको रौनक अरुभन्दा भिन्न हुने गर्छ । यस दिन चोक–चोकमा दौरा–सुरुवाल, कालो बिर्खे टोपी र सेतो पटुकीमा चिरिच्याङ्ग रामायणधारी भानुभक्तहरु निकाल्ने गरिन्छ । भानुभक्त र घाँसीको प्रेरणादायी कथा स्मरण गराउने र्यालीले भानुजयन्तीलाई शोभयामन तुल्याएका छन् । विगतमा यस्ता गतिविधिहरु व्यापक रुपमा हुने गरेको भए पनि पछिल्ला दिनहरुमा भने विस्तारै कम हुँदै गएको छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तले सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर नेपाली भाषा र समाजलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेका हुन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ । भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।


