तानसेन, नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा इकाईले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले सोमबार वृक्षारोपण गरेको छ । उसले क्याम्पसको विज्ञान संकाय भवन परिसरस्थित बतासेडाँडामा कपुर, धुपी, सल्ला, अमला, चिउरी लगायत विभिन्न प्रजातिका बिरुवा रोपेको हो ।

वृक्षरोपणमा स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति एवं नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ, नेपाली कांग्रेस पाल्पाकी सचिव सुनिता अधिकार, त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका विज्ञान संकायका सहायक क्याम्पस प्रमुख पितबहादुर नेपाली, नेपाली काँग्रेस जिल्ला सदस्य गिरिजा गैरे, पूर्व स्ववियु सभापति हरिबोल भट्टराई, पूर्व स्ववियु कोषाध्यक्ष तथा क्याम्पसका उपप्राध्यापक कृष्ण बहादुर आले, क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सभापति मिलन घर्ती मगर, त्रिभुवन बहुमुखी क्याम्पस कर्मचारी संघका सभापति डुकुलराज ढकाल,नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका इकाइ सभापति पुण्यप्रसाद सुवेदी लगायत शिक्षक, विद्यार्थी तथा राजनीतिक नेतृत्वहरु त्यहाँ पुगेका थिए ।
विद्यार्थीसँगै वृक्षारोपणमा पुगेका काँग्रेस सभापति श्रेष्ठले विद्यार्थीले अध्ययनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वातावरण संरक्षणजस्ता अभियानमा सक्रिय सहभागिता जनाउनु सकारात्मक र अनुकरणीय कार्य भएको बताए । उनले वृक्षारोपणलाई औपचारिकतामा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत सबैले ध्यान दिनुपर्नेमा जोड दिए । यस्ता अभियानले वातावरण संरक्षणका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेस पाल्पाकी सचिव सुनिता अधिकारीले जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्न वृक्षारोपण प्रभावकारी माध्यम भएकाले यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताइन् । विज्ञान संकायका सहायक क्याम्पस प्रमुख पितबहादुर नेपालीले क्याम्पस परिसरलाई हराभरा बनाउन विद्यार्थीको पहल प्रशंसनीय रहेको उल्लेख गरे । नेविसंघले आगामी दिनमा पनि वातावरण संरक्षण, सामाजिक सचेतना तथा विद्यार्थी हितसँग सम्बन्धित रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


