Shittalpati
अवैध लागूऔषध सहित ३६ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित ३६ जना पक्राउ परेका छन् । प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार रोल्पा, महोत्तरी, झापा, चितवन, सुनसरी, सिराहा, मोरङ, कञ्चनपुर, कैलाली, ललितपुर, काठमाडौं लगायतका जिल्लाहरुबाट प्रहरीले अवैध लागु औषधसहित ३६ जनालाई पक्राउ  गरेको हो ।

रोल्पाको रोल्पा नगरपालिका–२ साततल्ले चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही नगरपालिका–६ रिमसक बस्ने २३ वर्षीय आर्दश घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।  यस्तै काठमाडौं महानगरपालिका–६ कुमारीगलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ९ सय ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–६ घर भएका २७ वर्षीय किरण सुनाम र मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका २४ वर्षीय अनिल लामा रहेका छन् ।यस्तै महोत्तरीको बर्दिबास नगरपालिका–१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम र गाँजा १ सय ५५ ग्राम सहित धनकुटा घर भएका २६ वर्षीय अजय राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०१२७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस्तै ललितपुरको ललितपुर  महानगरपालिका–२९ हरीसिद्दीबाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम सहित धादिङ धुनीवेशी नगरपालिका–९ घर भएका ३८ वर्षीय अनिल श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ । यसैगरी ललितपुरकै महालक्ष्मी नगरपालिका–४ ईमाडोल पृथ्वीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने खोटाङ घर भएका २१ वर्षीय समिर भन्ने गोबिन्द प्रधानलाई  प्रहरीले पक्राउ गरेको छ । यस्तै कैलालीको टीकापुर नगरपालिका–१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित  सोही नगरपालिका–१ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–१ त्रिवेणी घाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय अस्मित कठरिया र २३ वर्षीय मनिष चौधरी रहेका छन् । यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका–८ गप्का बस्ने २७ वर्षीय महेन्द्र ओखेडा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै बर्दिया, राजापुर नगरपालिका–४ घुम्ना बस्ने २० वर्षीय बिनय चौधरी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३८ मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ९ सय १० मिलिग्राम सहित सुर्खेत वीरेन्द्र नगर नगरपालिका–९ बस्ने २३ वर्षीय सुर्य बहादुर रावतलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय आदित्य खुना समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update