काठमाडौँ, काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । शरीरको करिब ५५ प्रतिशत भाग जलेर अत्यन्तै नाजुक र जटिल अवस्थामा वीर अस्पताल भर्ना भएका नेपालीको शुक्रबार बिहान ११ः१९ बजे निधन भएको अस्पताल प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालीलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएदेखि नै सघन उपचार कक्षमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिएको थियो । उनको ज्यान बचाउन अस्पतालका प्लास्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सिङ स्टाफको टोलीले निरन्तर प्रयास गरिरहेको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्पतालका अनुसार उनलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी समेत भइरहेको थियो । तर अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालिन सीपीआर र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म प्रयास गरेका थिए । उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए । नेपालीको मृत्युपछि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्नुको साथै परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई सडकदेखि सदनबाट दवाब सिर्जना गरिएको छ । नेपालीको मृत्यु प्रकरणलाई लिएर शुक्रबार दिनभर माइतीघरमा युवाले प्रदर्शन गरे । सर्वसाधारणहरू स्वतःस्फूर्त रूपमा माइतीघरमा उत्रिएका थिए । माइतीघरबाट प्रदर्शनसहित वीर अस्पताल जान लागेका युवाहरूलाई प्रहरीले रोकेको थियो । उता प्रतिनिधिसभाका सांसदहरूले पनि सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उनको निधनका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गर्न भन्दै दवाब दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरुलाई क्रमशः बोल्न दिएका थिए । कांग्रेस सांसद सीता थपलिया (उर्मिला) ले प्रधानमन्त्री वालेन्द्र शाहको जवाफ आउनुपर्ने माग गरेकी छन् । थपलियाले प्रधानमन्त्री जवाफदेही बन्नुपर्ने बताएकी हुन् । ‘प्रधानमन्त्रीज्यू, तपाईंको शासनमा गरिबले बाँच्न नपाउने हो ? मेयर हुँदा गरिबका साइकल लुटेर नष्ट गर्नुभयो । प्रधानमन्त्री हुँदा आज सुकुमवासीको घर भत्काउनुभयो तर व्यवस्थापन गर्नुभएन । आज दैनिक मजदुरी गरेर खाने मान्छे बाँच्न नसक्ने बनाउनुभयो । यो सहर कसका लागि ?,’ उनले सोधिन् । प्रतिपक्ष दल एमाले सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । उनले मोटरसाइकल पार्किङ र जरिवानाको विषयपछि उनले आत्मदाह गर्ने निष्कर्षमा पुग्नुपरेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताइन् । सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकमाथि गम्भीर नभएको आरोप लगाइन् ।
उक्त मृत्यु प्रकरणको दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग उनले माग गरिन् । ‘गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ । यो मृत्यु एउटा व्यक्तिको मृत्यु मात्रै होइन । यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो । घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्थापन गर्नका लागि म जोडदार माग गर्दछु,’ उनले भनिन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले गरिब, सुकुमवासीलाई राजधानी काठमाडौंमा बाँच्न राज्यका कारण कठिनाइ भइरहेको बताएका छन् । उनले विगतमा प्रधानमन्त्री शाहले व्यक्त गरेका धारणा पनि स्मरण गराएका थिए । मुगुका गणेश नेपालीले आत्मदाहबारे प्रधानमन्त्री वालेन्द्रशाहको धारणा के हो भनेर पनि जवाफ माग गरेका छन् । ‘प्रधानमन्त्री हुनुहुन्छ, नयाँ–नयाँ विश्वासका साथ उहाँ जनमतसहित आउनुभएको छ । के यो (गणेश नेपालीको घटना) राज्यको असफलता हो ? या गरिब, दुःखी, सुकुमवासीहरू संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन् ? उनीहरूले गरिखान पाउँदैनन् भन्ने संकेत हो ? सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु,’ उनले भने । सांसद वासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरेकी थिइन् । सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको र यस्तो वातावरण बनाउनु दुःखद् भएको बताइन् । नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन् । सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको र उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन् । सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने बताइन् । सांसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए ।


