पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई-दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक-एक जना पक्राउ परेका हुन् । प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध चरेस, खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन र स्पास्मो बरादम गरेको छ ।
प्रहरीले लुम्बिनी प्रदेशका जिल्लाहरुबाट मात्र अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । रूपन्देहीको सियारी गाउँपालिका–६ लक्ष्मणगंजबाट अवैध लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ परेको छ । गाँजा २ किलो ३ सय १० ग्राम र नगद ९ हजार १ सय रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय शाहरूख खान भन्ने सराजुदिन खान मुसलमान र तिलोत्तमा नगरपालिका–१६ मधौलीया बस्ने १९ वर्षीय दिवश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सराजुदिनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस्तै कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट नियन्त्रित लागूऔषध स्पास ९ ट्याब्लेट सहित सोही गाउँपालिका–८ बिजुवा बस्ने १९ वर्षीय रहमान मियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी दाङको गढवा गाउँपालिका–५ बाँकी बस्ने २८ वर्षीय शिब कुमार यादवलाई अवैध लागूऔषध गाँजा करिब ४३ किलो ६३ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला फेला पारी पक्राउ गरेको हो । यस्तै दाङकै घोराही उपमहानगरपालिका–१४ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ४ किलो ७ सय ८ ग्राम सहित सोही उपमहानगरपालिका–१४ नयाँ बजार बस्ने ४१ वर्षीय युवराज बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले नयाँ बजारबाट जनचेतना टोलतर्फ जाँदै गरेको लु.४४ प ७५८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।


