काठमाडौँ, काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ । यद्यपी अस्पतालले भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको हो । गणेशका दाइ मदनले अस्पतालले भाइको निधन भएको जानकारी दिएको बताए । अस्पतालले भने निधनको औपचारिक घोषणा गर्न बाँकी छ । अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।


