पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा परी तीन जना, डुवेर एक जना, करेन्ट लागेर एक जना, मृत अवस्थामा तीन जना रहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाडी चोकस्थित सडकमा कारले मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । युपी ६५ ईएक्स ०१०० नम्बरको कारले से. ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बैतडी सिगास गाउँपालिका–१ बस्ने ४८ वर्षीय पदम चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिपी अस्पताल धनगढीमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखस्थित सडकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको क.प्र ००१ ज ००५२ नम्बरको बलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८ बस्ने ३८ वर्षीय बिष्णु बुढाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जीप चालक समेत जीपमा सवार अन्य ११ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका–५ स्थित कञ्चनपुर पेट्रोल पम्प नजिकै सडकमा प्र.२–०२–००२ प १६६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक बलवा नगरपालिका–५ बस्ने ३० वर्षीय राम ललित यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै उदयपुरको त्रियुगा नगरपालिका–८ राजाबास बस्ने रूपेश दनुवारको छोरा ७ वर्षीय सिरियान दनुवारको सोही ठाउँस्थित सरस्वती खोलामा डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–१० गोगापुर बस्ने ४० वर्षीय दासु थारूको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै कपिलवस्तुको महाराजगंज नगरपालिका–२ पडरीया एक जना मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँका ७० वर्षीय बुद्ध अहिर आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । यस्तै गुल्मीको मुसिकोट नगरपालिका–१ सिरानटोल बस्ने ६८ वर्षीय बिर बहादुर सुनार पनि बडिगाड लघुविद्युत समुदायको ड्यामस्थित ट्याड्ढीमा मृत अवस्थामा फेला परेका छन् । यस्तै बाराको पचरौता नगरपालिका–१ नेपाल भारतको सिमानास्थित जमुनिया खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । सम्पूर्ण घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


