Shittalpati
डेंगी संक्रमण फैलिन नदेऊ

पानी पर्न थालेपछि डेंगी संक्रमण समेत बढ्ने प्रक्षेपण गरिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगी सङ्क्रमणको जोखिम बढ्ने भन्दै  आवश्यक सर्तकता अपनाउन सबैमा अनुरोध  गर्दै आएको छ । दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम बढ्न सक्ने बताइएको छ । वर्षायाम सुरु भएसँगै पानी जम्ने ठाउँहरू बढ्ने भएकाले डेंगी सार्ने एडिस जातका लामखुट्टेको प्रजनन पनि तीव्र हुन्छ । यस्तो अवस्थामा व्यक्तिगत, पारिवारिक र सामुदायिक स्तरमा आवश्यक सावधानी अपनाउन नसके संक्रमण व्यापक रूपमा फैलिन सक्छ । त्यसैले डेंगी नियन्त्रणका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य छ ।

डेंगी एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्दैन, तर संक्रमित लामखुट्टेको टोकाइबाट फैलिन्छ । घर वरिपरि रहेका पानी जम्ने भाँडा, पुराना टायर, गमला, कुलर, ड्रम तथा अन्य खुला भाँडामा लामखुट्टेले फुल पार्ने भएकाले यस्ता स्थान नियमित रूपमा सफा गर्नुपर्छ । हप्तामा कम्तीमा एक पटक पानी फेर्ने, अनावश्यक पानी जम्न नदिने र वातावरण सफा राख्ने बानीले डेंगीको जोखिम उल्लेखनीय रूपमा घटाउन सक्छ । डेंगी रोकथाममा स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, सञ्चारमाध्यम र नागरिक सबैको साझा जिम्मेवारी हुन्छ । जनचेतना कार्यक्रम सञ्चालन गर्ने, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान चलाउने तथा आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने काम प्रभावकारी हुनुपर्छ । त्यस्तै, प्रत्येक नागरिकले लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाउने, झुल प्रयोग गर्ने र आवश्यक परे लामखुट्टे भगाउने उपाय अपनाउनुपर्छ । यदि कसैलाई उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडी दुख्ने, शरीर तथा जोर्नी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्छ । समयमै उपचार र उचित सल्लाह पाएमा डेंगीका जटिल अवस्थाबाट बच्न सकिन्छ । अहिलेको अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन । त्यसले ज्यान पनि लिन सक्ने हुनाले उक्त अवस्था आउन नदिन स्वयम व्यक्ति आफै जिम्मेवार हुनैपर्छ ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update