देशका अधिकांस स्थानमा अझै पनि सिचाइँ अभावका कारण धान रोपाइँ हुन सकेको छैन । पानी परे पनि मुल फुट्ने गरी आउन सकेको छैन् । जसका कारण सिचाइँ नभएका ठाउँहरुमा रोपाइँ हुन सकेको छैन् । जल सम्पदामा विश्वकै धनी देशमा गनिएर पनि धानखेती लगाउने समयमा सिँचाइ अभावमा रोपाइँले गति लिन नसक्नु दुर्भाग्य हो । अधिकांश किसान सिँचाइ सुविधा नपुग्दा आकासे पानीका भरमा धान रोपाइँ गर्न बाध्य छन् । अहिले देशभरमा धानखेती हुने योग्य जमिन १३ लाख ८२ हजार २ सय ६२ हेक्टर छ । यसमध्ये हालसम्म १ लाख ६६ हजार ९ सय ३ हेक्टरमा मात्रै रोपाइँ भएको छ । यो वर्षको धान रोपाइँ गत वर्ष यही बेलाका तुलनामा हेर्दा झण्डै साढे तीन प्रतिशत बिन्दुले कम भएको छ । गत वर्ष मध्यअसारसम्म कुल खेतीयोग्य जमिनको १५.६२ प्रतिशत धान रोपाइँ सकिएको थियो ।
वर्षायाममा अत्यधिक पानी र हिउँदमा पानीको अभाव हुने अवस्थाले कृषि उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ । किसानले समयमै खेतमा पानी नपाउँदा बाली सुक्ने, उत्पादन घट्ने र आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था बारम्बार देखिन्छ । जलस्रोतमा धनी देश भएर पनि त्यसको प्रभावकारी उपयोग गर्न नसक्नु विडम्बना हो । नदी, खोला, मुहान तथा वर्षाको पानीलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गरी सिँचाइ विस्तार गर्न सकिएमा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिन्छ । सरकारले सिँचाइ आयोजनाहरूलाई प्राथमिकता दिँदै समयमै सम्पन्न गर्नुपर्छ । स्थानीय तह, किसान समूह र सम्बन्धित निकायबीच समन्वय गरी नहर निर्माण, लिफ्ट सिँचाइ, पोखरी निर्माण तथा आधुनिक सिँचाइ प्रविधिको विस्तारमा जोड दिन आवश्यक छ । साथै, उपलब्ध सिँचाइ प्रणालीको नियमित मर्मत–सम्भार र दिगो व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । सरकारले प्रत्येक वर्ष सिँचाइ सुविधा पु¥याउने भन्दै अर्बौं रुपैयाँ बजेट विनियोजन गरेपनि अझै धेरै किसान सिचाइँ सुविधाबाट बञ्चित छन् । उनीहरु धानबाली लगाउन हरेक वर्ष आकाशे पानीमा निर्भर हुनुपर्ने बाध्यता छ । जबसम्म पर्याप्त सिचाइँको सुविधा पुग्दैन तब सम्म बर्खे धान रोपाइँ गर्न किसानलाई आकाशतर्फ हेर्नुको विकल्प छैन । तसर्थ सरकारले सिचाइँ नपुगेका खेतीयोग्य क्षेत्रहरुमा तत्काल सिचाइँको व्यवस्था गर्नतर्फ ध्यान दिन जरुरी छ ।

