पाल्पा, मगर समुदायले आज भूमि पूजा गर्दैछन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने परम्परा छ ।
विशेषगरी रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लाहरुमा धूमधामसँग भूमि पूजा गर्ने गरिन्छ । यसलाई मगर जातिले पर्वकै रुपमा मनाउने गर्दछन् । यो उनीहरुको महत्वपूर्ण पर्व मध्ये एक हो । ठाउँ विशेष अनुसार भूमिको पूजा गर्ने चलन छ । पुर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको इतिहास छ । हुन त यो पर्व असार १ गतेदेखि नै प्रारम्भ भए पनि आजको दिनलाई विशेष मान्ने गरिन्छ । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै मगर समुदायले यो पूजा गर्दै आएका छन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै पञ्चत्व स्वरूपमा भूमिको पूजन गर्ने गर्छन् । भूमी पर्वमा टाढा–टाढा गएका दाजुभाइसमेत घरमा जम्मा भई रमाइलो गर्ने परम्परा रहेको छ । मगर समुदायको भूमे पर्वमा विभिन्न पाँच प्रकारको बाजा बजाएर महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाउने गर्छन् । यस पर्वलाई नयाँ कामको सुरुवात गर्ने दिन, वर्षभरिको कामको योजना बनाउने दिनका रूपमा पनि लिने गरिन्छ । भूमी पर्वमा सबै मगर सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख, पीर बिर्सने र मन खुसी हुने विश्वास छ ।


