Shittalpati
बगनासकालीको साहित्य र युवा सक्रियताको खाँचो

नेपाली कला साहित्य र संस्कृतिले भरिएको पाल्पा त्यसमा पनि बगनासकाली गाउँपालिका आफैमा समृद्ध पालिका हो । यहाँको लोकसंस्कृति,परम्परा ,भाषा भेषभुषा, चालचलन, रहन सहनसँगै सिर्जना गर्ने सर्जकहरु रहेको यस पालिकाको इतिहासदेखि वर्तमानसम्म हेर्दा विगतका तुलनामा वर्तमानमा सुस्त कछुवाको गतिमा  अघि बढेको हो कि भन्ने भान हुन्छ । बगनासपालिकाका प्रत्येक ग्रामीण क्षेत्रसम्म साहित्यिक कलासंस्कृतिको जगेर्ना गर्दै युवा पुस्तामा साहित्यिक चेतनाको विकास गर्न नवप्रतिभाहरूको सिर्जना  प्रस्फुटन गराउन  र ऊर्जा प्रदान गर्नका लागि नितान्त आवश्यक देखिएको छ । पुराना पुस्ताहरुले सिर्जना गरेको जगलाई थप उचाइमा पु¥याउन नयाँ पुस्ताहरूप्रति साहित्यिक सक्रियता बढाउनुपर्ने आजको आवश्यकता देखिन्छ । यहाँका रैथाने गीत, कथा, गजल, कविताको संरक्षण गर्दै स्थानीय स्तरलाई राष्ट्रियस्तरमा पहिचान दिन सकिने साहित्यिक माध्यम पनि  हो ।


बगनासकालीको साहित्यिक इतिहास हेर्दा यहाँका सर्जकहरुले कथा उपन्यास, कविता, गीत गजल, नाटक, निबन्ध, संस्मरण, लघुकथा, हाइकु आदि विद्याहरुमा कलम चलाइएको पाइन्छ । विभिन्न वडाहरुका सर्जकहरु राष्ट्रिय स्तरसम्म पुगेको चर्चित नामहरू सर्वविधितै छ । कोही यही बसेर कोही यो थातथलो छोडेर गएकाले पनि पाल्पा र बगनासकालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको कुरालाई नकार्न सकिँदैन् । बगनासकाली दुई पोखराथोकमा २०७५ सालदेखि पोखराथोक साहित्यसँगमबाट प्रकाशित बाटिकाले नियमित प्रकाशन गरिरहनु संस्थाको मुख्य देन हो । जसमध्ये यहाँका जागरिला साहित्यकारहरू खटेर लाग्नुभएको छ ।पोखराथोक साहित्य संगम स्थापना गर्ने संस्थापकहरू पण्डित यादवनाथ कोइराला, गंगानाथ कोइराला, कृष्ण कोइराला, कृष्ण पहाडी, सरोज काफ्ले विश्वनाथ गैरे, हरि भट्टराई, गोविन्द खनाल सम्झनुपर्ने नाम हुन् । त्यसै गरि २०७५ सालमा भोजराज भट्टराईको अध्यक्षतामा बग्नासकाली साहित्य परिषद्को गठन भएको छ । यस परिषद्ले स्थापनाकालदेखि नै साहित्यिक गोष्ठी नियमित रचनावाचन कार्यक्रमहरू गर्दै आएको पाइन्छ । यसै गरि नेपाली भाषा कलासंस्कृतिको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएका पाल्पाली श्रष्टाहरुमध्ये त्यो पनि बगनासकालिका केही परिचयात्मक व्यक्तित्वहरू हुनुहुन्छ जसले साहित्यलाई माथि उठाउनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । खानीगाउँका डा.शंकर गैरे, दैलातुङका खगेन्द्र बस्याल, गोपाल बस्याल, कल्लाबारीका गोम क्षेत्री, धातानन्द गैरे ,टड्ढ भट्टराई ,चापानीका तिलक नेपाली, गणेश  नेपाली, झपेन्द्र खनाल, दर्पुकका भोजराज भट्टराई दर्लमका सागर भण्डारी, चिर्तुङधाराका गोविन्द भट्टराई तुलबहादुर गाहा, सीता गौतम, बराङ्दीका डा. राधे श्याम बस्याल, नायरका ज्ञानु न्यौपाने, कमल भट्टराई,पोखराथोकका कृष्णपहाडी, मोहन लक्ष्मी  नेपाल, मन गहिरे,जानका नेपाल, बिनोद नेपाल, युवराज शर्मा खनाल, अनिल कोइराला,सुनिल कोइराला,गोविन्द खनाल, रेश्मी राज गहिरे,गीता रेग्मी, विष्णु पहाडी, दुर्गा अर्याल, डा. सुरेन्द्र गैरे ,पर्शुराम ढकाल, उपेन्द्र रेग्मी, उपेन्द्र गैरे, खानीगाउँका सुमन गैरे, श्रीस देवकोटा, नवीन पौडेल, तुलसा नेपाल लगायतले बगनासकालीको साहित्यिक उत्थानका लागि सराहनीय काम गर्दै आएका छन् भने वर्तमान परिवेशमा नवपुस्तालाई साहित्यिकतर्फ के गर्न सकिन्छ कसरी आफ्ना संस्कृति साहित्यतर्फ रुचि जगाउन सकिन्छ भन्ने विषयमा सोच्नु पर्ने बेला आएको छ । गाउँपालिकाका विभिन्न वडाहरुमा गठन भएका विद्यालय विद्यालयहरूले गर्ने साहित्यिक प्रतियोगिताहरू लोकदोहोरी सांस्कृतिक मेलाहरू बाहेक नव युवाहरूमा साहित्यिक लेख र  पठन संस्कृतिको विकास विस्तारै हराउँदै जाने हो कि चिन्ताको विषय बन्दै  गएको छ । किनकि आधुनिक समयमा मोबाइलदेखि लिएर विभिन्न सामाजिक सञ्जालहरूमा युट्युब, फेसबुक, टिकटक आदिहरुमा युवाहरुलाई आफ्नो सिर्जनशील समय त्यसै खेर गइरहेको पाइन्छ । आधुनिक प्रविधि सामाजिक सञ्जालको बढ्दो प्रभावले अध्ययन र लेखनप्रति युवाहरूको घट्दो रुचिका कारण साहित्यिक गतिविधिहरूमा ठूलो चुनौती पनि देखिएको छ । यस्तो अवस्थामा साहित्यको संरक्षण प्रवर्धन र विकासका लागि युवाहरूको सक्रिय सहभागिता हुन आवश्यक छ । युवाहरुको  साहित्यप्रतिको मोह जगाई सिर्जनात्मक सोचको विकास गर्न सकिएमा गाउँपालिकाको साहित्यिक क्षेत्र अझै समृद्ध  अझै सशक्त भएर जानेछ । साहित्यको संरक्षण र विकासमा निम्न उपायहरूको  कार्यान्वयन तर्फ जानु आजको महत्वपूर्ण आवश्यकता हो ।


–आधुनिक डिजिटल प्रविधिको युगमा युवाहरूको सिर्जनशीलताको उजागर गर्न सोहि अनुसारकै सामाजिक सञ्जालहरू खडा गर्ने पोस्टर र ब्लग    र डिजिटल पत्रिकाहरू सञ्चालन गर्न विद्यालय तहदेखि नै  किशोर किशोरीहरू र युवाहरूको सक्रियतामा संलग्नता गराउन जरुरी छ । यसो गर्न    सके बगनासकालीको साहित्यलाई आधुनिक प्रविधिसँग जोडेर विश्वव्यापीकरण गर्न ठूलो मद्दत पुग्ने देखिन्छ ।
–पालिकाभित्र रहेका समुदायका विकृति विसंगति र कुरुतिहरू विरुद्ध युवा स्रष्टाहरूलाई सिर्जना र रचना गर्नतर्फ उन्मुख गर्न सके अझै राम्रोसँग    जनचेतनाको अभिवृद्धि हुन सक्नेछ ।
–एउटा पालिका सभ्य शिष्ट सिर्जनाको मूल फुटाउने र बौद्धिक साहित्यिक सांस्कृतिक रुपमा नै समृद्ध पालिका बनाउन व्यक्तिगत प्रयास मात्र        सम्भव छैन्  ।
–अब बग्नसकालीका प्रत्येक वडाहरूमा साहित्यिक क्लबहरू गठन गर्ने नियमित रचनावाचनहरू गर्ने, कवि गोष्ठी लगायत साहित्यिक   प्रतियोगिताहरूका लागि स्थानीय सरकारले बजेट तर्जुमा गरी साहित्यिक प्रतिष्ठान, साहित्य सर्जक र साहित्यिक क्लबहरूलाई प्रोत्साहन गर्दै   अघि   बढाउन आवश्यक छ ।
–बगनासकाली गाउँपालिकाको साहित्यको जगेर्ना र विकासका लागि युवाहरुमा उत्प्रेरणा जगाउनका लागि साहित्यिक प्रतियोगिताको आयोजना      गर्ने वडा  स्तरमा, क्याम्पसमा, विद्यालयहरूमा साहित्य क्लब गठन गर्ने ।
–स्थानीय साहित्यकार र नयाँ पुस्ताबीचका अन्तरक्रिया साक्षात्कार कार्यक्रमहरू गर्ने –स्थानीय इतिहास संस्कृति र लोक साहित्यमा, साहित्य     लेखनमा प्रोत्साहन गर्ने ।
–पुस्तकालयमा  पठन संस्कृतिको  विकास गर्ने विद्यालयका पुस्तकालयहरुलाई व्यवस्थित बनाउने ।
–साहित्यिक उत्सव आयोजना गर्ने ।
–पुस्तक प्रकाशनमा  साथै नव पुस्ताका प्रकाशनमा सहयोग गर्ने भनेअवश्य पनि समाजको साहित्य भाषा संस्कृतिको संरक्षण पहिचान जोगाउँदै   नवसर्जकहरु बढने छन् भन्ने कुरालाई नकार्न सकिँदैन । जसले साहित्यकको जगेर्ना र विकास  सम्भव हुँदै जानेछ । यसरी स्थानीय स्तरमा   युवाहरुको जोशमा साहित्यिक ऊर्जा भर्न साहित्यिक चेतनाको विकास सँगसँगै अघि बढाउन सके अवश्य पनि आगामी दिनमा बगनासकाली   गाउँपालिकामा कालजयी सिर्जनाहरु जन्मिने छन् । 
 जय साहित्य !

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update