पाल्पा, आज अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । एकल महिलाहरूले समाजमा भोग्नुपरेका चुनौती, अधिकार र सम्मानका विषयलाई उजागर गर्दै उनीहरूको सशक्तीकरणका लागि आवाज उठाउने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।
दिवसका अवसरमा देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ । सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला रहेका छन् । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो । लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ । सरकारी प्रतिनिधिहरूले पनि एकल महिलाको अधिकार संरक्षणका लागि नीति तथा कार्यक्रमहरू विस्तार हुँदै गएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषज्ञहरूका अनुसार एकल महिलामाथिको सामाजिक दृष्टिकोण परिवर्तन नगरी उनीहरूको वास्तविक सशक्तीकरण सम्भव छैन । त्यसैले जनचेतना विस्तार र समावेशी नीति निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ । यसैबीच, विभिन्न जिल्लामा पनि स्थानीय तहको सहकार्यमा सचेतनामूलक कार्यक्रमहरू भइरहेका छन् । विश्वभर एकल महिलाको सम्मान, अधिकार र सशक्तीकरणको सन्देश फैलाउने महत्वपूर्ण अवसरका रूपमा मनाइँदै आएको छ ।


