Shittalpati
द्वन्द्वमा यौन हिंसा उन्मूलन दिवसको सन्दर्भ

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । हरेक वर्ष जुन १९ मा यो दिवस मनाउने गरिन्छ । युद्ध, सशस्त्र संघर्ष तथा राजनीतिक अस्थिरताको समयमा हुने यौन हिंसाविरुद्ध विश्व समुदायको प्रतिबद्धता अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रुपमा यो दिवसलाई लिने गरिन्छ । तर यौन हिंसाका घटनाहरुमा भने कमी आउन नसक्नु दुखद् हो । नेपालमा एक दशक लामो सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकार हननका थुप्रै घटनाहरु घटेका थिए । नेपालमा शान्ति निर्माण प्रक्रिया सुरु भएको दुई दशक पुग्नै लाग्दा पनि द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्ल·नका सवालमा यौनअपराध जस्ता घटनाको सम्बोधन अझै हुन सकेको छैन ।

यौन हिंसा केवल व्यक्तिगत पीडा वा अपराध मात्र होइन, यो मानवअधिकारको गम्भीर उल्लङ्घन, सामाजिक संरचनामाथिको आक्रमण र शान्ति प्रक्रियामा बाधा पु¥याउने अमानवीय कार्य हो । विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा महिलाहरू, बालबालिका तथा कमजोर समुदायका सदस्यहरू यौन हिंसाको सिकार बन्दै आएका छन् । युद्धका क्रममा बलात्कार, यौन दासत्व, जबर्जस्ती विवाह तथा अन्य प्रकारका यौन दुव्र्यवहारलाई कहिलेकाहीँ युद्धको हतियारका रूपमा समेत प्रयोग गरिएको इतिहास छ । यस्तो हिंसाले पीडितको शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्नुका साथै परिवार र समुदायमा समेत गहिरो घाउ छोड्ने गर्दछ । नेपालको सन्दर्भमा पनि दशक लामो सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसाका घटनाहरू भएका तथ्य विभिन्न अध्ययन र पीडितका अनुभवहरूले उजागर गरेका छन् । तर धेरै पीडित अझै पनि न्याय, सत्य र परिपूरणको प्रतिक्षामा छन् । सामाजिक कलङ्क, डर र न्यायिक प्रक्रियाको जटिलताका कारण धेरै घटनाहरू सार्वजनिक हुन सकेका छैनन् । यसले पीडितमैत्री न्याय प्रणाली र संवेदनशील राज्य संयन्त्रको आवश्यकता झन् स्पष्ट बनाउँछ । द्वन्द्वकालीन यौन हिंसालाई सम्बोधन गर्न केवल कानुनी व्यवस्था पर्याप्त हुँदैन । पीडितको सम्मानजनक पुनस्र्थापना, मनोसामाजिक सहयोग, आर्थिक सशक्तीकरण र सामाजिक स्वीकार्यता पनि उत्तिकै आवश्यक छन् । दोषीलाई दण्डहीनता प्रदान गर्ने प्रवृत्तिको अन्त्य गर्दै सत्य, न्याय र जवाफदेहिताको सुनिश्चितता गरिनुपर्छ । साथै, शान्ति निर्माण र संक्रमणकालीन न्यायका प्रक्रियामा पीडितको आवाजलाई प्राथमिकता दिनु आजको आवश्यकता हो । 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update