Shittalpati
खडेरीको चुनौती

पछिल्लो समय नेपालले जलवायु परिवर्तनका कारण चुनौतीको सामना गरिरहनु परेको छ ।  समयमै वर्षा नहुनु, लामो समयसम्म पानी नपर्नु, तापक्रम बढ्दै जानु र जलस्रोतहरू सुक्दै जानु जस्ता घटनाले खडेरीको समस्या गम्भीर बन्दै गएको संकेत दिएका छन् । खडेरी केवल कृषि क्षेत्रको समस्या मात्र होइन, यो खाद्य सुरक्षा, खानेपानी, ऊर्जा उत्पादन, जनस्वास्थ्य र समग्र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चुनौती हो । नेपालको अधिकांश जनसंख्या अझै पनि कृषि पेशामा निर्भर छ । कृषि उत्पादन मुख्यतः मनसुन वर्षामाथि आधारित भएकाले वर्षा कम हुँदा वा समयमा नहुँदा बाली उत्पादनमा ठूलो असर पर्छ । 

खेतबारी बाँझो हुने, उत्पादन घट्ने र किसानको आयमा कमी आउने अवस्था सिर्जना हुन्छ । यसले खाद्यान्न अभाव तथा मूल्यवृद्धि निम्त्याउने जोखिम पनि बढाउँछ । खडेरी प्राकृतिक घटना भए पनि यसको प्रभाव कम गर्नु मानव प्रयासमा निर्भर हुन्छ । समयमै योजना बनाउने, स्रोतहरूको विवेकपूर्ण उपयोग गर्ने र समुदायस्तरदेखि राष्ट्रिय तहसम्म सचेत तयारी गर्ने हो भने खडेरीको जोखिमलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । तर यसतर्फ कसैको पनि ध्यान जान सकेको छैन । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्न  हरेक वर्ष जुन १७ का दिन विश्व समूदायले यो दिवस मनाउने गर्दछ । यस वर्षको दिवस  नेपालसहित विश्वभर मनाइँदै छ । तर हरेक वर्ष दिवस मनाउने गरिए पनि खडेरीको जोखिम कम  हुन सकेको छैन । यो अत्यन्तै दुःखको कुरा हो । खडेरीको चुनौती सामना गर्न केवल प्राकृतिक वर्षाको प्रतीक्षा गरेर बस्ने अवस्था अब छैन । दीर्घकालीन योजना र प्रभावकारी तयारी अपरिहार्य बनेको छ । जलस्रोत संरक्षण, वर्षाको पानी संकलन, सिँचाइ पूर्वाधारको विस्तार, जलाधार क्षेत्रको संरक्षण तथा वन व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ । कृषि क्षेत्रमा कम पानीमा उत्पादन हुने बालीको प्रवद्र्धन, आधुनिक प्रविधिको प्रयोग र किसानलाई समयमै आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण छ । सरकारले विपद् व्यवस्थापनका योजनालाई कागजमा सीमित नराखी व्यवहारमा लागू गर्नुपर्छ । स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच समन्वय गरी सम्भावित खडेरी प्रभावित क्षेत्रको पहिचान, पानीको स्रोत व्यवस्थापन र राहत तयारीलाई सुदृढ बनाउन जरुरी छ । 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update