Shittalpati
अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवसको सार्थकता 

आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आफ्ना परिवारको उज्ज्वल भविष्यका लागि विदेशमा श्रम गरिरहेका लाखौँ आप्रवासी श्रमिकहरूको योगदानको सम्मान गर्ने उद्देश्यले हरेक वर्ष जुन १६ मा यो दिवस मनाउने गरिन्छ । नेपालजस्तो विकासोन्मुख मुलुकका लागि रेमिटेन्स अर्थतन्त्रको एक प्रमुख आधारस्तम्भ बनेको छ । लाखौँ नेपाली युवाहरू रोजगारीका लागि विदेशिएका छन् र उनीहरूले पठाएको रकमले देशको विदेशी मुद्रा सञ्चिति बलियो बनाउनुका साथै लाखौँ परिवारको दैनिकी धानिरहेको छ ।

रेमिटेन्स केवल आर्थिक सहायता मात्र होइन, परिवारको आशा, शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारको आधार पनि हो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिटेन्सको योगदान उल्लेखनीय रहेको तथ्यले यसको महत्व झन् स्पष्ट पार्छ । तर रेमिटेन्सको सकारात्मक पक्षसँगै केही चुनौतीहरू पनि छन् । वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले असुरक्षित कार्यस्थल, न्यून पारिश्रमिक, श्रम शोषण तथा सामाजिक र पारिवारिक विछोडका समस्या भोग्नुपरेको यथार्थ लुकाउन सकिँदैन ।  कतिपय अवस्थामा श्रमिकहरूको श्रम र अधिकारको उचित सम्मानसमेत नहुने गरेको छ । त्यसैले रेमिटेन्सबाट प्राप्त आर्थिक लाभको मात्र चर्चा गरेर पुग्दैन, श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ । अर्कोतर्फ, रेमिटेन्सलाई केवल उपभोगमा सीमित नगरी उत्पादनशील क्षेत्रमा लगानी गर्न सकियो भने यसले दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्‍याउन सक्छ । कृषि, उद्योग, पर्यटन तथा साना–मझौला उद्यममा रेमिटेन्सको सदुपयोग गर्ने वातावरण निर्माण गर्नु सरकार र निजी क्षेत्रको साझा दायित्व हो । यसले रोजगारी सिर्जना गरी भविष्यमा वैदेशिक रोजगारीप्रतिको अत्यधिक निर्भरता कम गर्न मद्दत पुर्‍याउनेछ । यो दिवसले हामीलाई विदेशमा पसिना बगाइरहेका श्रमिकहरूको योगदान सम्झने मात्र होइन, उनीहरूको सम्मान, सुरक्षा र भविष्यप्रति जिम्मेवार बन्न पनि प्रेरित गर्छ ।  रेमिट्यान्सले धानिरहेको अर्थतन्त्रका रूपमा रहेको नेपाली परिवेशका लागि आजको यस दिवस असाध्यै महत्वपूर्ण छ । यसर्थ रेमिटेन्सको सम्मान गरौँ र विप्रेषण पठाउने परिवारका सदस्यहरूको कदर गरौँ । यसो गर्न सके मात्र हरेक वर्ष मनाईने अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवसले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update