पाल्पा, पछिल्लो समय नयाँ पुस्तामा परम्परागत संस्कार तथा सीपप्रति रुचि घट्दै जाँदा हराउन लागेको जनै बाट्ने कला संरक्षण गर्ने उद्देश्यले पाल्पामा विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । जनतन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति नै हराउँदै जान थालेपछि ब्राह्मण समाज नेपाल पाल्पाले भने संरक्षणका लागि प्रशिक्षण दिएको हो ।
समाजले तानसेन नगरपालिका (२ वडा कार्यालयको आर्थिक सहयोगमा तानसेन नगर भित्रका विद्यार्थी, महिला, पुरुषहरुलाई जनै बाट्ने परम्परा सिकाएको छ । उसले ३ दिने जनै बनाउने तालिम दिएको हो । समाजले नयाँ पुस्तामा जनै बनाउने सिपको विकास गराई संस्कृति बचाई राख्न तालिम दिइएको जनाएको छ । प्रशिक्षकहरूले कपासबाट धागो तयार पार्ने, धागोलाई निश्चित विधिअनुसार बाटेर जनै बनाउने तरिका सिकाएका थिए । कार्यक्रममा सहभागीहरूले आधुनिक जीवनशैलीका कारण यस्ता परम्परागत सीप ओझेलमा पर्दै गएको बताए । नयाँ पुस्ताप्रति जनै बाट्ने परम्पराको विस्तार गरी विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र उक्त जनै विधिपूर्वक समेत नहुने हुँदा त्यसलाई रोक्न तालिम सञ्चालन गरिएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले बताए । जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आर्कषित गर्नुको साथै रोजगारसँग जोड्नका लागि वडा कार्यालयको सहयोगमा संस्कृतिको संरक्षणमा लागिएको उनको भनाई छ । ‘तागाधारीको पहिचान भनेकै जनै रहेकोले यसको संरक्षणको लागि स्थानीय सरकारले अभियानकै रुपमा अगाडि बढाउनु पर्ने उनको तर्क छ । तालिमको शुभारम्भ गर्न पुगेका वडाध्यक्ष महेश लाल श्रेष्ठले नयाँ पुस्तामा जनै बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले संस्कृतिको संरक्षणमा समाजले देखाएको चासो र चिन्ता प्रसंशनिय रहेको बताए । अध्यक्ष श्रेष्ठले भने, ‘नयाँ पुस्ताले जनै बनाउन सिके हुने भन्ने थियो अहिले सिकाउने काम भएको छ । यो त सबैका लागि खुसीको कुरा हो । एकातिर संस्कृतिको जगेर्ना हुने र अर्काेतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिए हुने हो ।’ उनले यस्ता संस्कृतिको संरक्षणमा वडाले समेत विशेष ध्यान दिर्दै आएको उल्लेख गरे । कार्यक्रममा तानसेन कार्यपालिका सदस्य सविता भट्टराई विगतमा पनि नगरपालिकाले जनै बनाउन सहयोग गरेको बताइन् ।
विश्वहिन्दु महासंघका केन्द्रिय सदस्य भिमलाल भट्टराईले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए । तालिममा ३९ जना प्रतिक्षार्थीले जनै बनाउन सिकेको समाजको सहज सहसचिव जयराम सापकोटोले जानकारी दिए । तालिम जेष्ठ २९, ३० र ३१ गतेसम्म चल्नेको थियो । तालिममा स्थानीय स्तरमा जनै बनाउने तालिम लिई जनै उत्पादन गर्न सके संस्कृतिको जर्गेना हुने र व्यवसायिक रुपमा उत्पादन गर्न सके निम्न आय भएका व्यक्तिहरुका लागि जिविकोपार्जन समेत हुनेमा कार्यक्रममा सहभागीहरुले जोड दिए । तालिममा धागो तेब्राउने, सिका पार्ने र छ सराको बनाउने सीप सिकाइएको थियो । समाजका अध्यक्ष धर्मचन्द्र नेपालको अध्यक्षता,कोषाध्यक्ष कृष्ण चालिसेको स्वागत र सचिव पुरुषोत्तम अर्यालको सञ्चालनमा तालिम भएको थियो । बजारबाट ल्याएको काँचो धागोलाई सानो चर्खाको सहायताले संगालेर जनै बनाउने गरिन्छ । कतुवाको सहायताले काँचो धागो बाटेपछि जनैको डोरा तयार हुन्छ । काँचो धागोको २७ सरा बेरेर ३ सरे र ५४ सरा बेरेर ६ सरे जनै तयार हुन्छ । शिखासहितको जनैलाई वैदिक मन्त्रले मन्त्रेपछि त्यो पूर्ण हुन्छ । शिखा जनैको महत्वपूर्ण भाग हो । यसलाई ब्रम्हगाँठो समेत भनिन्छ । स(साना नियमलाई उन्दै गएर जनै तयार हुन्छ । शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ ।


