तानसेन (पाल्पा),आधुनिक तथा उन्नत जातका धानको प्रयोग बढ्दै जाँदा यहाँ पाइने रैथाने धानका जातहरू लोपोन्मुख अवस्थामा पुग्न थालेका छन् । बढी फल्ने वर्णशड्ढर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने जातका धान लोपोन्मुख अवस्थामा पुगेको हो ।
रैथाने धानका जात मध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ । माडीफाँटाका ५८ वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनदी धानको च्युराको मिठो स्वाद अझै बिर्सन नसकिने बताउन्छन् । “सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको च्यूरा खाएको सम्झना अझै ताजा छ,” उनले भने, “अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जादा खल्तीभरी त्यही च्यूरा भरेर खादै पुग्ने गर्दथ्यौँं, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।” अहिले अनदी धान पाउनै मुस्किल हुन थालेको उनको भनाइ छ । अर्गेलीका किसान शोभाखर न्यौपानेले अनदीको चामलको खीर निकै स्वादिलो हुने भएकाले पहिले(पहिले महिनामा एक पटक परिवारका सबैजना बसेर खाने गरेको सुनाए । अहिलेका धानको चामलको खीर अनदीको चामलको जस्तो नहुने गरेको उनको अनुभव छ । न्यौपानेका अनुसार अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो । उनले भने, “यो धान हामीले बीउको रूपमा जोगाउन सके, अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागि उपयुक्त हुनसक्छ ।” अहिले हाइब्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको न्यौपानेले बताए । यहाँका विभिन्न फाँटहरुमा लगाइँदै आएका अनदीसहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् । रैथाने प्रजातिका निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग,समद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनोजस्ता रैथाने बास्नादार र स्वादिलो चामल अचेल सितिमिति भेटिंदैन ।
माथागढी गाउँपालिका कसेनीका किसान दिलबहादुर राना विगत एक दशकदेखि बजारबाट धानको बीउ खरिद गर्दै आएका छन् । उनी हरेक वर्ष करिब चार हजार रुपैयाँ बराबरको बीउ किनेर रोप्ने गरेको सुनाउन्छन् । स्थानीय तथा उन्नत जातका तुलनामा हाइब्रिड बीउले बढी उत्पादन दिने भएकाले अन्य जात प्रयोग गर्न छाडेको उनको भनाई छ । बगनासकाली गाउँपालिका नायरका किसान नवराज बस्यालको अनुभव पनि उस्तै छरु। विगत पाँच वर्षदेखि उहाँले घरमा बीउ जोगाएर राख्ने परम्परा छोडेका छन्। “स्थानीय जातको तुलनामा करिब दोब्बर उत्पादन पाइने भएकाले हाइब्रिड बीउ प्रयोग गर्न थालेको हुँ,” उनले भने । माथागढी कसेनीकै विष्णु कुँवरले सात रोपनी क्षेत्रफलमा विगत १० वर्षदेखि हाइब्रिड धान लगाउँदै आएका छन् । स्थानीय जातको धानबाट १० देखि १५ मुरीसम्म उत्पादन हुने गरेकोमा हाइब्रिड प्रयोग गरेपछि उत्पादन उल्लेख्य रूपमा बढेको उनको अनुभव छ । “पहिलेभन्दा धेरै उत्पादन हुन थालेपछि हामीले यही बीउलाई निरन्तरता दिएका छौँ,” उनले भने । जिल्लाको ७ हजार ३ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । पछिल्ला दशकहरूमा पर्याप्त सिँचाइ सुविधा विस्तार हुन नसक्दा धेरै किसान अझै पनि आकासे पानीमा निर्भर छन् ।


