Shittalpati
पाल्पामा माओवादी नेताहरुको ‘कृषि क्रान्ति’

पाल्पा, सुन्दै आश्चर्य लाग्न सक्छ कुनै समय युद्धका हतियार सहित सशस्त्र जनयुद्धमा होमिएका माओवादी नेताहरु खेती किसानीमा लागेका छन् भन्दा । तर, परिस्थिति फेरिएको छ । हिजोका ती माओवादी योद्धाहरु अहिले युद्धका हतियार होइन, किसानी औजारका साथ कृषि क्रान्तिको अभियानमा लागेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी नेताहरू  पाल्पासहित देशभर  बाँझो जग्गालाई लिजमा लिएर खेती किसानीमा जुटेका छन् ।
     
यति बेला पाल्पाका माओवादी नेताहरु सशस्त्र युद्धबाट होइन, कृषि क्रान्तिबाट साम्यवादको सपना पुरा हुने भन्दै कृषि क्षेत्रमा सक्रिय बन्दै ‘कृषि क्रान्ति’ को अभियानमा जुटेका छन् । पार्टीका जिल्ला इन्चार्ज मिन सी, सेक्रेटरी सुकुमार सी, प्रदेश कमिटी सदस्य तथा उत्पादन विभागका प्रमुख आकास सी र संघर्ष सीको नेतृत्वमा यहाँ व्यवसायिक कृषि हुँदै आएको छ । राजनीतिक गतिविधिसँगै व्यावसायिक कृषि उत्पादनमा उनीहरू सक्रिय छन् । विगत तीन वर्षदेखि उनीहरु  धान, गहुँ, आलु जस्ता व्यावसायिक  कृषिमा लागेको देखिन्छ । यस अघि गहुँ र आलु भित्र्याइसकेका उनीहरु यति बेला  रिब्दीकोट गाउँपालिका–२ लघुवा फाँटमा धान रोपाइँमा व्यवस्त छन् ।

 उनीहरु परिवारसहित  रोपाइँमा खटिएका छन् । प्रायः औपचारिक कार्यक्रमका भाषण र आन्दोलनका अग्रमोर्चामा देखिने ति नेताहरु अहिले हातमा कोदाली लिएर खेतामा हिलोसँगै रमाएको देख्न सकिन्छ ।  उनीहरुले वर्षौदेखि बाँझो रहेको स्थानीयहरुको ८० रोपनी जग्गा लिजमा लिएका छन् । त्यही जग्गामा उनीहरुले धान, गहुँ र आलु लगाउने गरेका छन् । किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाइ आत्मनिर्भर हुने उद्देश्यसहित पाल्पामा कृषि क्रान्तिको अभियान चलाइएको नेकपा (माओवादी) पाल्पाका इन्चार्ज मीन सीले बताए । उनले उत्पादनविना राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नु सरह भएको  भन्दै आफुहरु उत्पादनतर्फ लागेको उल्लेख गरे । सीले भने‚“ नेता कार्यकर्ताहरु आत्मनिर्भर भए पार्टी आत्मनिर्भर हुने र कसैसँग चन्दा उठाउन नपर्ने बनाउन हामी लागेका हौं ।” मुलुक कृषि प्रधान देश भए पनि  कृषिमा आत्मनिर्भर हुन नसकेको उनको भनाई छ । आयातित तरकारी सहित खाद्यन्नमा कमिसन खाने पुँजीवादीहरूका कारणले यहाँका जनता मारमा परेको उनले बताए । 

आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता बनाउन आफुहरु अहिले कृषिमा लागेको सीले उल्लेख गरे । उनले पार्टीले पाल्पामा मात्र नभई देशैभर ३ सय विघामा खेती गर्दैै आएको जानकारी दिए । जिल्लाको तिनाउ गाउँपालिका – २ मा पार्टीको नाममा रहेको २३ रोपनी, तानसेन नगरपालिका–५ धरमपानीमा ६ रोपनी र रिब्दीकोटको देउरालीमा समेत कृषि गर्दै आएको उनले बताए । जन कमिटीको अधिनमा रहेर खेती गर्दै आएको पार्टीका सेक्रेटरी सुकुमार सीले बताए । सी कृषि फर्म दर्ता गरेर व्यवसाय थालेको उनले बताए । चन्दा उठाएर खानुभन्दा नेता कार्यकर्ता श्रममा जोडिनु राम्रो भएकाले उत्पादनमा सिङ्गो पार्टी लागेको उनको भनाई छ  । उनले भने, “सिङ्गो पार्टी उत्पादनमा लागेको छ । देशभरिमा जमिन लिजमा लिएर कृषि उत्पादनमा लागेका छौँ । यसो गर्दा कसैसँग चन्दा माग्नु पनि परेन । नेता कार्यकर्ताहरू श्रमसँग जोडिएका छौँ । उत्पादन पार्टीमातहत बिक्रीवितरण गरेका छौँ ।” गत वर्ष १५० मुरी धान, ६० मुरी गहुँ, २० क्विन्टल आलु, उत्पादन  गरिएको प्रदेश कमिटी सदस्य तथा उत्पादन विभाग पाल्पाका प्रमुख आकाश सीले बताए ।

यहाँ उत्पादित बस्तु बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाई छ ।  उनका अनुसार खेतबाटै धान, गहुँ लगायतका उत्पादन बिक्री हुने गरेको छ ।  उत्पादन भएको बस्तुबाट प्राप्त केही आम्दानी श्रम गर्नेले राख्छौं र बाँकी रहेको केही रकम पार्टीको संस्थागत विकासमा राख्ने गरेको उनले सुनाए । लघुवामा स्थानीय १२ घर परिवारको  बाँझो जग्गालाई उनीहरुले हराभरा बनाएका छन् । धेरै वर्ष यहाँको जग्गा बाँझो थियो, घाँस उम्रिएर जंगल जस्तै बनेको अवस्थामा उहाँहरु आएर खेती गर्न थालेपछि हराभरा भएको स्थानीय किसान दीपक कुँवरले बताए ।  उनले अरु किसानलाई पनि खेती गर्नु पर्छ भन्ने सन्देश उहाँहरुले दिनु भएको उल्लेख गरे । ३७ वर्ष भारतमा बसेर नेपाल फर्किएका उनी अहिले त्यही देखेर आफ्नै साढे २२ रोपनी जमिनमा खेती गर्दै आएको बताए । उनले बाँदर, बदेल र दुम्सीले कृषि गर्न समस्या भएकाले त्यसतर्फ सरकारले  ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update