पाल्पा, पाल्पामा धान रोपाइँ ७१ प्रतिशत सकिएको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार जिल्लाभर ७ हजार २ सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार २६ गतेसम्म ५ हजार १ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
अझै २ हजार १ सय १४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ । धान रोपाइँ हुन बाँकी ठाउँहरुमा मकै रहेकाले केही ढिला भएको जनाइएको छ । विगतमा साउनको पहिलो सातापछि मात्र रोपाइँ शुरु हुने यहाँका केही फाँटहरु यति बेला भने हरियाली बन्न थालेका छन् । समयमै पानी परेकाले किसानहरु उत्साहित हुँदै रोपाइँमा व्यस्त रहे । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि किसानहरु यतिबेला रोपाइँमा व्यस्त रहेका छन् । विशेषगरी अन्नको भण्डारको रुपमा लिइने तानसेनको माडी फाँट, अर्गेली, रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ, रामपुरको रामपुर फाँट, पूर्वखोलाका केही फाँट, निस्दी गाउँपालिकाको ढुँनावेसी, तिनाउ गाउँपालिकाको कचल, झ्याङ्ला, रिब्दीकोट र रैनादेवी छहराका तल्ला फाँटहरुमा धान खेती गरिदै आइएको छ । रामपुरका केही फाँटहरुमा रोपाइँ चलिरहेको छ भने केही ठाउँमा मकै निकालेर रोप्ने तयारीमा किसान जुटेका छन् । जिल्लामा ५३ हजार ४ सय ५४ हेक्टर जमिन खेती योग्य रहेका छ । जसमा ७ हजार २ सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । करिव ६ सय ५० हेक्टर क्षेत्रफलमा भने चैते धानको खेती हुँदै आएको छ । यहाँका किसानले ठूला–ठूला फाँटमा आधुनिक कृषियन्त्रको प्रयोग गरेका छन् भने टारी खेतहरुमा अझै पनि हल गोरु लगाएर रोपाइँ गर्दै आएका छन् । जिल्लाको दोस्रो मुख्य बालीका रुपमा स्थापित धान खेती यसवर्ष समयमा नै रोपाइँ हुँदा उत्पादन समेत राम्रो हुने कृषकहरु बताउँछन् । विगतमा बाँझो रहेका यहाँका केही खेतहरुमा समेत यसवर्ष रोपाइँ भएको छ ।
लुम्बिनी प्रदेशमा ५९ दशमलव ९४ प्रतिशत सकियो
यस्तै लुम्बिनी प्रदेशमा ५९ दशमलव ९४ प्रतिशत सम्पन्न भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार २६ गतेसम्म १ लाख ८० हजार ६३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अझै १ लाख ३२ हजार ४४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामध्ये रोल्पामा धान खेती हुने शतप्रतिशत जमिनमा रोपाइँ सकिएको छ । यसैगरी प्युठानमा धान रोपाइँ हुने खेतमध्ये ९२ प्रतिशत, नवलपरासी (पश्चिम)मा ९० प्रतिशत, रुकुम पूर्वमा ८० प्रतिशत, रुपन्देहीमा ७२ प्रतिशत, पाल्पामा ७१ प्रतिशत, बर्दियामा ७० प्रतिशत, दाङमा ६५ प्रतिशत, गुल्मीमा ५२ प्रतिशत र अर्घाखाँचीमा ५१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कपिलवस्तु र बाँकेमा भने धान रोपाइँको प्रगति सुस्त देखिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार कपिलवस्तुमा हालसम्म जम्मा ३१ प्रतिशतमात्र धान रोपाइँ भएको छ । जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि असार २६ गतेसम्म २० हजार ५४२ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको उनले जानकारी दिए । यसैगरी बाँकेमा ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने लक्ष्य रहेकामा हालसम्म १४ हजार ८६३ हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको ४४ प्रतिशत हो । निर्देशनालयका अनुसार मनसुन सक्रिय भइरहेकाले आगामी दिनमा रोपाइँको गति अझ बढ्ने अपेक्षा गरिएको छ । कतिपय स्थानमा साउनको तेस्रो हप्तासम्म पनि रोपाइँ गर्न मिल्ने भएकाले यो तथ्याड्ढमा अझै सुधार आउने निर्देशनालयले जनाएको छ ।

