हरेक वर्ष जुन १४ मा विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । यो दिवस रक्तदान गर्ने लाखौँ स्वयंसेवी दाताप्रति सम्मान व्यक्त गर्न तथा सुरक्षित र पर्याप्त रगतको आवश्यकता बारे जनचेतना फैलाउन समर्पित छ । डा.कार्ल लेण्डस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । रक्तदाताको महत्वपूर्ण भूमिकालाई सम्मान व्यक्त गर्दै विविध रचनात्मक कार्यक्रमहरू, रक्तदाता उत्प्रेरणा, अत्याधिक रक्तदान गर्ने रक्तदाता सम्मानलगायत विविध कार्यक्रम आजको दिन सम्पन्न गर्ने गरिन्छ । हाम्रो देशको सन्दर्भमा भने यो दिवसलाई परिणाममुखी बनाउन सकिएको छैन । जसको कारण रगत अभावका समाचार सुन्न र पढ्न बाध्य हुनुपर्छ । सक्षम जनशक्ति र गुणस्तरीय प्रविधि पर्याप्त नहुँदा रगतकै कारण अनाहकमा पीडितले आफ्नो ज्यानसमेत गुमाएको अवस्था छ । नेपालले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेता पनि हालसम्म कृत्रिम रगत बनाउन सकेको छैन । यसको विकल्प भनेको स्वयंसेवी रक्तदाता नै हुन ।
आधुनिक स्वास्थ्य सेवामा रगतको विकल्प छैन । दुर्घटना, शल्यक्रिया, प्रसूति जटिलता, क्यान्सर, थालासेमिया तथा विभिन्न गम्भीर रोगका बिरामीहरूको जीवन बचाउन रगत अपरिहार्य हुन्छ । यस्तो अवस्थामा नियमित र स्वेच्छिक रक्तदान मानवताका लागि सबैभन्दा महान् सेवामध्ये एक मानिन्छ । नेपालजस्ता विकासोन्मुख देशमा अझै पनि आवश्यक मात्रामा रगत संकलन गर्न चुनौती रहेको छ। आपत्कालीन अवस्थामा मात्र रक्तदाता खोज्ने प्रवृत्ति, रक्तदान सम्बन्धी भ्रम तथा पर्याप्त जनचेतनाको अभावले रक्त आपूर्तिमा समस्या देखिने गरेको छ । यद्यपि पछिल्ला वर्षहरूमा युवा, सामाजिक संस्था र स्वयंसेवी समूहहरूको सक्रियताले रक्तदान अभियानलाई थप सशक्त बनाएको छ । यसले समाजमा सकारात्मक परिवर्तनको संकेत दिएको छ । रक्तदानले केवल प्राप्तकर्ताको जीवन बचाउँदैन, दातामा पनि सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ । वैज्ञानिक रूपमा स्वस्थ व्यक्तिले निश्चित अन्तरालमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै नकारात्मक असर पर्दैन । बरु नियमित स्वास्थ्य परीक्षणको अवसर प्राप्त हुने र मानवीय सेवाको सन्तुष्टि मिल्ने गर्दछ । जीवन बचाउने यो अभियानलाई केवल एक दिवसमा सीमित नराखी वर्षभरि नै निरन्तरता दिन आवश्यक छ । रक्तदान कुनै सामान्य दान होइन, यो कसैको जीवनमा नयाँ आशा र नयाँ सुरुवात दिने अमूल्य उपहार हो । त्यसैले “रक्तदान, जीवनदान” भन्ने सन्देशलाई आत्मसात् गर्दै सबै सक्षम नागरिकले नियमित रक्तदानको संस्कार विकास गर्नु आजको आवश्यकता हो । यही नै विश्व रक्तदाता दिवसको वास्तविक सन्देश र सार्थकता हो ।
