Shittalpati
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

पाल्पा, आज विश्वभर विश्व बालश्रम विरुद्धको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । बालबालिकालाई श्रमको शोषणबाट मुक्त गराई उनीहरूको शिक्षा, स्वास्थ्य र समग्र अधिकार सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष जुन १२ मा यो दिवस मनाउने गरिन्छ ।

    यस वर्ष पनि सरकारी निकाय, गैरसरकारी संस्था, श्रमिक संगठन तथा बालअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै छन् । नेपालमा बालबालिका सम्बन्धी ऐन २०४८ ले १६ वर्ष मुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ । उनीहरूलाई आयआर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन वर्जित छ । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरुपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आइएलओले जोड दिएको छ । सन् २००२ जुन १२ यता विश्वव्यापी बालश्रमिकको दुर्दशाको बारेमा चेतना फैलाउन प्रत्येक वर्ष बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ । बालश्रम बालबालिकाले कलिलो उमेरमा परिपक्व जस्तै गरी गर्ने काम नै शारीरिक वा मानसिक श्रम हो । शारीरिक वा मानसिक रूपमै बालबालिकालाई असर पु¥याउने कामहरूमा बालबालिका संलग्न हुन्छन् वा संलग्न गराइन्छ भने त्यसलाई नै बालश्रम भनिन्छ । विभिन्न प्रयास गरिए पनि विश्वका विकसित देशमा बाल मजदुरीको अन्त्य हुन सकेको छैन ।

नेपाल जस्ता देशहरूमा बालश्रमको अवस्था अझै भयावह छ । नेपालमा विभिन्न गैरसरकारी तथा सरकारी निकायले बालश्रमविरुद्ध काम गर्दै आएका छन् । नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय महासन्धिहरूले बालश्रम निषेध गरेका छन् । तर कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन । यसको प्रभावकारी कार्यान्वयन, गरिब परिवारको आर्थिक सशक्तीकरण, गुणस्तरीय शिक्षामा पहुँच तथा जनचेतनाको विस्तार अपरिहार्य छ । राज्य, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज, अभिभावक र समुदाय सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आवश्यक छ । विश्व बालश्रम विरुद्ध दिवसले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ—बालबालिकाको स्थान विद्यालय, खेलमैदान र सुरक्षित पारिवारिक वातावरण हो, श्रमस्थल होइन । प्रत्येक बालबालिकाले आफ्नो सपना देख्न, सिक्न र उज्ज्वल भविष्य निर्माण गर्न पाउने अधिकार राख्छ । त्यसैले बालश्रममुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता र सक्रिय पहल आजको आवश्यकता हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update