पाल्पा, निर्वाचन आयोगले पाल्पाका एक वडाध्यक्षले दल त्याग गरेकाले उक्त पद रिक्त रहेको सूचना जारी गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित माथागढी गाउँपालिका –१ का वडा अध्यक्ष राजकुमार पन्थीले दल त्याग गरेकाले उक्त पद स्वत रिक्त हुन गएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुसार आयोगले पन्थीको पद रिक्त भएको निर्णय सार्वजनिक गरेको जनाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै सम्बन्धित निकायलाई समेत जानकारी गराएको छ । आयोगद्वारा जारी सूचनामा २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेकाले उनको पद स्वतः रिक्त भएको उल्लेख छ । पन्थीले भने आफू जेनजी आन्दोलनको पक्षमा लागेको र निर्दोष बालबालिका मार्न हुन्न भन्ने सन्देश दिएकै कारण कारबाहीमा परेको बताए । उनले सामाजिक सञ्जालमार्फत कुनै पनि दलमा प्रवेश नगरेको अवस्थामा कारबाही भएको जनाएका छन् । एमाले केन्द्रीय सचिवालयले जनप्रतिनिधिले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएपछि पद रिक्त भएको हो ।



