पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अगुवाइमा जिल्लाका पत्रकारहरुले प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न मागहरु राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन् । पत्रकारहरुले प्ले कार्डसहित विहान ११ बजेदेखि अपराह्न्न १२ सम्म सो स्थानमा धर्ना दिएका हुन् ।
२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापनसम्बन्धी निर्णय खारेजी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकारका लागि नेपाल पत्रकार महासंघले विगत दुई महिनादेखि दबाबमूलक आन्दोलन सञ्चालन गर्दै आइरहेको छ । सरकारले महासंघको माग सम्बोधनका लागि कुनै पनि पहल नलिएपछि आज पाल्पासहित देशभरका शाखाहरुमा पत्रकारले धर्ना दिएका हुन् ।

आफुहरुको माग पुरा नहुँदासम्म आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले बताए । उनले भने “ सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय गलत हो, यो तत्काल खारेज गरी प्रेस स्वतन्त्रताको रक्षा गर्ने दिशामा सरकारले ध्यान देओस् । हाम्रो आन्दोलनलाई सरकारले नजरअन्दाज गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने छ ।” पत्रकारहरुले शान्तिपूर्वक धर्ना दिएका थिए । उनीहरुले नीजि सञ्चार माध्यममा सरकारी सूचना र विज्ञापन रोक्ने स्वेच्छाचारी र विभेदकारी निर्णय खारेज गर, श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा कायम गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर, निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर, सञ्चारमाथिको विभेद अन्त्य गर, समान व्यवहार सुनिश्चित गर , स्वतन्त्र पत्रकारिता बचाऔँ, लोकतन्त्र बलियो बनाऔँ, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बन्द गर , सरकारी सूचना सबै सञ्चार माध्यमलाई समान रूपमा उपलब्ध गर, निष्पक्ष विज्ञापन नीति लागू गर, विभेदकारी निर्णय फिर्ता गर, पत्रकारको श्रम, सम्मान र सुरक्षा सुनिश्चित गर, स्वतन्त्र सञ्चारमाथि अंकुश स्वीकार छैन, सूचना प्रवाहमा अवरोध होइन, पारदर्शिता कायम गर, प्रेसमाथिको दबाब बन्द गर, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर, लोकतन्त्रको आधार स्वतन्त्र प्रेस हो, यसको रक्षा गर, जनताको सुसूचित हुने अधिकार सुरक्षित गर, सत्य, तथ्य र स्वतन्त्र पत्रकारिताको संरक्षण गर, प्रेस स्वतन्त्रता कमजोर पार्ने निर्णय खारेज गर, सबै सञ्चार माध्यमप्रति समान नीति अवलम्बन गर, राज्यको सूचना जनताको सम्पत्ति हो, पहुँचमा विभेद नगर, सञ्चार क्षेत्रको आत्मसम्मान र स्वायत्तताको रक्षा गर, पत्रकारमैत्री नीति ल्याऊ, दमनकारी नीति हटाऊ, सूचना र विज्ञापन वितरणमा पारदर्शिता कायम गर, स्वतन्त्र आवाज दबाउने प्रयास बन्द गर जस्ता प्ले कार्ड लिएर धर्ना दिएका थिए ।

महासंघले आन्दोलनका कार्यक्रमहरुलाई चरणवद्ध रुपमा अगाडि बढाएको महासंघ पाल्पा शाखाका सचिव रामचन्द्र रायमाझीले बताए । उनका अनुसार महासंघ केन्द्रीय समितिले २०८३ जेठ २५ गते – संकलित हस्ताक्षर महासंघका सबै संरचनाले (बिहान ११ बजे) सबै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाउने, जेठ २७ र २९ गते बिहान ११ बजेबाट १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, असार १ र ३ गते बिहान ११ बजेबाट १२ बजेसम्म मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने, असार ५ गते केन्द्रीय समितिको आयोजनामा पेशागत संगठन र सरोकारवालासहित वृहत ऐक्यवद्धता ¥याली गर्ने कार्यक्रम तय गरेको छ ।


