Shittalpati
पाल्पामा  स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्ने पालिका प्रमुखहरुको प्रतिबद्धता

पाल्पा,  पाल्पाका स्थानीयतह र पत्रकारहरुबिच अन्तरक्रिया भएको छ ।  नेपाल पत्रकार महासंघ पाल्पा शाखाको  आयोजनामा  विहीबार तानसेनमा जिल्लाका स्थानीयतहका प्रमुख, उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत र पत्रकारहरुबिच स्थानीय विकास र सञ्चार सवलीकरणका बिषयमा अन्तरक्रिया भएको हो । 

कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले स्थानीय सञ्चार माध्यसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले संघीय सरकारले सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्न नपाउने तथा सरकारी सञ्चार माध्यममै अनिवार्य रूपमा प्रकाशन–प्रसारण गर्नुपर्ने गरी जारी गरेको परिपत्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा रहेको भन्दै स्थानीय सञ्चार माध्यमको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले सञ्चार नीति बनाएर आफुहरु अगाडि बढ्ने बताए ।  

कार्यक्रममा विभिन्न सात बुँदे विषयमा मिलेर काम गर्ने निष्कर्ष निकालिएको छ । जिल्लामा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धनका लागि सहकार्य गर्ने, नागरिकलाई सही, विश्वसनीय र  सूचना समयमै  उपलब्ध गराउने,  लोकतान्त्रिक मूल्य, मानव अधिकार र प्रेस स्वतन्त्रताको सम्मान गर्ने, सूचना तथा दुष्प्रचार नियन्त्रणका लागि एक आपसमा समन्वय गर्ने,  पाल्पाको समग्र विकास, सुशासन र नागरिकहितलाई केन्द्रमा राखेर कार्य गर्नेमा जोड दिइएको छ ।  यस्तै  स्थानीय तह र सञ्चार माध्यमबिच सूचना प्रवाह तथा जनहितका कार्यक्रमहरुको प्रचार प्रसारलाई प्रभावकारी बनाउन स्थानीय तहले उपलब्ध स्रोत र साधानको परिधिमा रही मिडियालाई प्राथमिकताका साथ विज्ञानपन, सूचना तथा सार्वजनिक सन्देश नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गर्ने, जसले गर्दा नागरिकको सूचनाको हक सुनिश्चित गर्न सहयोग पु र्‍याउने, नेपाल पत्रकार महासंघ पाल्पा शाखासँग समन्वय र सहकार्य गरी स्थानीय तहको सञ्चार नीति बनाइ स्थानीय मिडियाहरुलाई बलियो बनाउन लागि पर्ने  पालिकाका अध्यक्षहरुले जोड दिए । 
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतहरुले आफुहरु  सूचना प्रकाशन तथा प्रशारणमा केन्द्र सरकारको परिपत्रलाई कार्यान्वयन गर्न बाध्य रहेको बताए । स्थानीय सरकारले आ–आफ्नो सञ्चार नीति बनाएर गएमा आफुहरुले कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय अधिकृतहरुको भनाई छ । 

 कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले केन्द्र सरकारको निर्णयले जिल्लामा सञ्चालित  अधिकांश मिडियाहरु संकटमा पर्दै गएकोले लोकतन्त्र बचाउन पनि मिडिया बाच्नु पर्ने आवश्यकता रहेको बताए । जिल्लाका मिडिया र पत्रकार बचाउन स्थानीयतहको साथ सहयोगको जरुरी रहेकोले सोही अनुसारको नीति नियम बनाएर सहकार्य गर्नुपर्ने समन्वय प्रमुख खनालले बताए ।  कार्यक्रममा बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामी, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा,  निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर चितौरे लगायतले  पालिकाहरुबाट मिडिया क्षेत्रमा भईरहेको कामहरुको बारेमा जानकारी  समेत गराए । कार्यक्रममा  महासंघका निवर्तमान अध्यक्ष रेखीराम रानाले स्थानीयतह र मिडियाको अवस्था, दुवै पक्षको जिम्मेवारी, दायित्व, समन्वय र सहकार्य, पत्रकार आचार संहिता एव, पालिकाहरुले निर्माण गर्नुपर्ने सञ्चार नीति, कार्यदिशा, पछिल्लो सयम केन्द्र सरकारले सार्वजनिक खरिद शसोधन गरी सरकारी बोलपत्रका सूचना सरकारी मिडियामा मात्र प्रकाशन, प्रसारणका विषयमा केन्द्रित  कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्षहरु गोविन्द भट्टराई, झपेन्द्र गहिरे, महासंघका सल्लाहकार कृष्ण दर्नाल, पत्रकारहरु जगदिश भट्टराई, भरत शर्मा, माधव अर्याल, लगायतले जिल्लाका मिडियाहरु बचाउन स्थानीय सरकारको अनिवार्य रुपमा साथ र सहयोगको खाँचो रहेको बताए । महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्ति न्यौपानेको स्वागत र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा  कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update