Shittalpati
संघीय बजेटमा लुम्बिनी प्रदेश

पाल्पा,संघीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को बजेट तथा कार्यक्रममा लुम्बिनी प्रदेशका यसअघि सारिएका महत्वपूर्ण योजनालाई निरन्तरता दिइएको छ, भने केही योजना सञ्चालनमा निजी क्षेत्रलाई जिम्मेवारी दिनेगरी सीमित नयाँ योजना मात्रै प्रस्तावित रहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा यहाँका ठूला पूर्वाधार, पर्यटन, उद्योग, सडक आयोजनादेखि सिंचाई सम्मका कार्यक्रमलाई प्राथामिकतामा राखेका छन् ।

निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नससेको भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने र दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नति गरिने अर्थमन्त्री वाग्लेले बताए । यसैगरी बजेटमा सिद्धबाबा सुरुङमार्ग यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य समावेश छ । यसअघिको सरकारले असोजसम्म यसलाई पूरा गर्ने योजनामा राखेको थियो । सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको एकीकृत विकासका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै देवदह, रामग्राम, तिलौराकोट र कपिलवस्तु क्षेत्रको बृहत् पूर्वाधार विकास र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने पनि सरकारले उल्लेख गरेको छ । त्यस्तै बुटवलबाट पाल्पा हुँदै पोखरा पुग्ने सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, कालीगण्डकी चक्रपथ निर्माण गर्ने, प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालमा विकास गर्ने अर्थमन्त्री वाग्लेले उल्लेख गरे । यसैगरी, बुटवल–नारायणगढ सडक यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने, बुटवल–गोरुसिंगे सडक निर्माणलाई तीव्रता दिने तथा दाङको धानखोला–लमही ८० किलोमिटर सडक स्तरोन्नति गर्ने घोषणा गरिएको छ । चन्द्रौटा–धानखोला सडक स्तरोन्नतिको अध्ययन पनि गरिने जनाइएको छ । औद्योगिक क्षेत्रतर्फ रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र तथा मयूरधाप औद्योगिक क्षेत्रको निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरिएको छ ।

बर्दियामा राजापुर सिँचाइ आयोजनालाई पुनःस्थापना गरिने भएको छ । बाँकेस्थित सिक्टा सिँचाइ आयोजना अन्तर्गत बाँकेको पूर्व र पश्चिम क्षेत्रमा थप ५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित २ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी, बृहत दाङ उपत्यका सिँचाइ आयोजना र प्रगन्ना–बढ्कापथ सिँचाइ आयोजनामार्फत थप २ हजार ३ सय ८० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्न १ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले खेलकुद क्षेत्रअन्तर्गत विभिन्न फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने घोषणा गरेको छ । सो सूचीमा बुटवल पनि परेको छ, बुटवल रंगशाला स्तरोन्नति गरिने घोषणा गरिएको छ । यस्तै, सबै प्रदेशमा अपा· पुनस्र्थापना केन्द्र निर्माण तथा सबै स्थानीय तहमा अस्पताल निर्माण गरिने बजेटमा उल्लेख छ । यस्तै गरी सिद्धार्थ राजमार्गको अन्तरराष्ट्रियस्तरमा रुपान्तरण सुरु गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ–उद्यम व्यवसायी केन्द्रित बनाइने बजेटमा उल्लेख गरिएको छ । त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै ‘शालिग्राम पथ’ विकास गरिने अर्थमन्त्री वाग्लेले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update