Shittalpati
निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा कटौती, असफल बनाइँदै  स्वास्थ्य बीमा

पाल्पा, सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

बीमा बोर्डले निजी अस्पताललाई मंगलबार पत्राचाार गर्दै आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने जानकारी गराएको  छ । सोमबार बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू जेठ १६ गतेदेखि बन्द हुने निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा उल्लेख छ । बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म स्थगित गरिएको बोर्डले जनाएको छ । पत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमा बोर्डको बोर्ड बैठकको मिति २०८३÷०२÷११ गतेको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’  बोर्डको निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएको छ

स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा आर्थिक वर्ष २०७२÷७३ मा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो ।  स्वास्थ्य बीमा ऐन अन्तर्गत स्वास्थ्य बीमा बोर्ड गठन गरेर सञ्चालन गरिएको यो कार्यक्रममा बीमितहरूले तोकिएका स्वास्थ्य संस्थाबाट बीमा सुविधा अनुसारका तोकिएको औषधोपचार निःशुल्क पाउँदै आएका थिए, तर पछिल्लो समय बोर्डले निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरुबाट सेवा कटौती गर्न थोपछि भने कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठेको छ । स्वास्थ्य सेवा प्रदान गरिरहेका संस्थाहरु बन्द गर्दै जान थालेपछि स्वास्थ्य बिमा नै असफलताको बाटोमा गएको हो कि भन्ने आभास हुन थालेको छ । अर्कोतर्फ स्वास्थ्य सेवामा सबैको पहुँचको ढोका खोलिए पनि, कार्यान्वयनमा भएको कमजोरी, अनुगमनको अभाव लगायत विभिन्न कारणले यो कार्यक्रम अहिले अपेक्षित रूपमा प्रभावकारी देखिंदैन ।
वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच परिवारसम्मका लागि तीन हजार ५०० बराबरको योगदानका आधारमा  एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रतिसदस्य ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बिमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ बीमित रहेका छन् ।
‘सुविधा थैली’ को दररेटमा परिवर्तन

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ । स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो । सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षण शुल्क लिन बोर्डले निर्देशन दिएको छ । उक्त नयाँ सुविधा थैलीको दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ । अहिले एक हजार १७० प्रकारका औषधि मात्र बोर्डबाट उपलब्ध हुने छ । यसअघि बोर्डले एक हजार २८९ प्रकारका औषधि उपलब्ध गराउँदै आएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update