Shittalpati
गंगा दशहरा व्रत आज श्रद्धापूर्वक मनाइँदै

पाल्पा, हिन्दू धर्मावलम्बीहरूले पवित्र नदी गंगाको अवतरण दिवसका रूपमा मनाइने गंगा दशहरा व्रत आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल दशमीका दिन यो पर्व मनाउने परम्परा रहेको छ ।

धार्मिक मान्यताअनुसार राजा भगीरथको कठोर तपस्यापछि स्वर्गबाट पृथ्वीमा गंगा अवतरित भएकी थिइन् । गंगाको जलले पाप नाश हुने तथा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । यस दिन नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी भगवान् शिव र गंगा माताको पूजा–आराधना गर्ने चलन छ । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा  गंगालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ ।  गंगा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर  नुहाएको जलाशयलाई गंगा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ । गर्मी मौसममा नदी तथा जलस्रोतको संरक्षण गर्नुपर्ने सन्देश पनि यस पर्वले दिने धार्मिक विद्वानहरूको भनाइ छ । सरकारले पनि पवित्र नदी तथा जलसम्पदाको संरक्षणमा सबैलाई सचेत रहन आग्रह गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update