दाङ,लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी ल्याइने बताएका छन् । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत आइतबार बसेको पाँचौँ बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन्।उनले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने जानकारी दिँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने बताए ।
साथै कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवद्र्धन तथा उत्पादन विविधीकरणमार्फत रोजगारी र आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको स्पष्ट पारे । बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरू बैजनाथ कलवार, दिल कुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मिना बुढा मगर, शान्ति लोध, मिना कुमारी श्रेष्ठ, मधुसुदन चौधरी, सुरुल पुन र बसन्ती न्यौपानेले बजेट प्रदेशवासीको हितमा हुनुपर्ने र कार्यान्वयन हुन नसक्ने क्षेत्रमा बजेट विनियोजन गर्न नहुनेमा जोड दिएका थिए । उनीहरूले विभिन्न जनजीविकासँग सम्बन्धित विषयतर्फ आकर्षित गराउँदै सरकारको ध्यानाकर्षण गराउँदै बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

