Shittalpati
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइँदै

पाल्पा, आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय १५ औं जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९६९ साल जेठ ९ गते ओखलढुङ्गामा आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनको २०४९ जेठ २२ गते काठमाडौँको धर्मपथस्थित आफ्नै निवासमा निधन भएको थियो ।

 उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनको जन्मजयन्तीका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम हुँदै छन् । हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ । सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरुको जन्मस्थलको एउटा थेगो गान नै भएको छ । युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाएका छन् । उनका ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु सर्वाधिक चर्चामा छन् । उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् । उनको अत्यन्तै लोकप्रिय र कर्णप्रिय गीतिकविता मेरो प्यारो ओखलढुंगा कालजयी सिर्जना हो । नेपाली शोककाव्य जगतमा कविवर माधवप्रसाद घिमिरेको कालजयी सिर्जना गौरीको जुन स्थान छ, स्थान परिचय र देशभक्तिको भावनामा युगकवि सिद्धिचरणको मेरो प्यारो ओखलढुंगा सिर्जनाको त्यही स्थान छ । सिद्धिचरणले संवत् १९९० सालमा भुइँचालो कविता लेखनबाट आफ्नो साहित्यिकयात्रा आरम्भ गरेका हुन् । राष्ट्र, राष्ट्रियता एवं जन्मभूमिप्रतिको स्नेहपूर्ण भक्तिभाव उजागर गर्न उनको चम्कन युवक चम्क कविताले राष्ट्रबोधको बारेमा राम्रो सन्देश–प्रवाह गरेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update