Shittalpati
तानसेनको बर्तुङ्गमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुँदै

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–६ बर्तुङ्गमा  खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।  परम्परागत लोक कला संस्कृतिक र स्थानीय खानाको संरक्षण गर्ने उद्देश्यले बर्तुङ्ग भित्र रहेका टोलविकास संस्थाहरुले यही जेठ ९ गते शनिबार बर्तुङ्गमा एक दिने खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम गर्न लागेका हुन् ।

बर्तुङ्ग खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८३ मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी प्रथम बर्तुङ्ग खाना महोत्सवको बारेमा जानकारी गराएको छ ।  स्थानीय खानाको संरक्षण गर्ने, खानाको स्वाद आन्तरिक तथा बाह्य पर्यटकलाई चखाउनुको साथै तानसेनमा पर्यटकहरुलाई भित्र्याउने, महिलाहरुमा रहेको अन्तरनिहित नेतृत्व क्षमतालाई उजागर गर्ने, अन्य टोलविकास संस्थाहरुसँगको सम्बन्धलाई सुमधुर बनाउने, महिला उद्यमीहरुबाट उत्पादित कृषि जन्यवस्तुहरुको प्रदर्शनी तथा विक्रीलाई प्रोत्साहन गर्ने उद्देश्यले सडक खाना महोत्सवको आयोजना गरिएको समितिकी अध्यक्ष भुमी  बुढाथोकीले बताइन् । महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानका परिकारको प्रचार–प्रसारका साथै बजारीकरणमा टेवा पुग्ने विश्वास उनले लिइन् ।

 पत्रकार सम्मेलनमा वडा अध्यक्ष सागरमान महर्जनले तानसेनको पर्यटन प्रवद्र्धनका लागि वडाबाट समेत एक लाख  बजेट विनियोजन गरि टोलविकास संस्थाहरुले महोत्सव गर्न लागेको बताए ।  उनले स्थानीय खाना र कला संस्कृति हराउँदै जान थालेको अवस्थामा टोलविकास संस्थाहरुले संरक्षणमा चासो देखाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने बताए । अध्यक्ष महर्जनले स्थानीय  अचारलाई समेत प्रथामिकतामा राख्न आयोजकलाई आग्रह गरे । उनले महोत्सवसँगै सरसफाई कार्यलाई पनि ध्यान  दिनुपर्नेमा जोड दिए । महोत्सवले पर्यटन विकासका लागि महत्वपूर्ण टेवा पुग्नेमा उनले विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले टोल विकास संस्थाले लोपउन्मूख अवस्थामा रहेका कला संस्कृति र खानाका परिकारहरुको संरक्षणमा देखाएको संक्रियता आफैमा प्रशसंनिय रहेको बताए । उनले पछिल्लो समय अधिकांस टोलविकास संस्थाहरुले खाना महोत्सव गर्ने तर त्यसको आयव्यय सार्वजनिक नगर्ने परम्परा रहेकोले त्यसो नगर्न आयोजकलाई आग्रह गरे । कार्यक्रम गरेपछि पादर्शी हुनुपर्नेमा उनले जोड दिएर । सचिव रायमाझीले महोत्सव सफल पार्न पाल्पाका मिडियाहरुको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । वडा सचिव विशाल ओलीले बर्तुङ्गको बटुकको आफ्नै महत्व र पहिचान रहेको बताए । उनले बटुकबाट नै यहाँँका अधिकासं  व्यक्तिहरुले राम्रै आम्दानी गर्न सफल भएकाले त्यसको ज्ञान र उपयोग नयाँ पुस्तामा समेत हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । वडा सदस्य रेखा विस्टले वडा कार्यालयले अन्य टोल विकास संस्थाहरुलाई समेत विगतमा महोत्सव आयोजना गर्नको लागि सहयोग  गर्दै आएको बताइन् । उनले  महोत्सव सफल पार्न जिल्लाका पत्रकारहरुलाई प्रचार प्रसारमा सहयोग गरिदिन पनि आग्रह गरिन् ।

महोत्सवमा नेवारी, मगरी, क्षेत्री ब्रह्यमण, लगायत जातिजातीका खानाका परिकारहरूको १५ वटा स्टल रहने छन् ।  जहाँ लोपोन्मुख अवस्थामा रहेका रैथाने खानाहरु बटुक, चुकाउनी, पकौडा, सेलरोटी, योमरीहरुको स्वाद लिन सकिने छ । दर्शकले स्थानीय खानाको स्वादसँगै विभिन्न जात जातिका भेषभुषा, नाँचगान र स्थानीय राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित मनोरञ्जन लिन सक्ने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्नका लागि २ लाख खर्च हुने वडा सदस्य तथा समितिकी गोमा  गैरेले बताइन् ।  “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा ५ हजार दर्शकहरुले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ । समितिकी अध्यक्ष  भुमी  बुढाथोकीको अध्यक्षता, सुदर्शन  कोइरालाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update