पाल्पा, पाल्पालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, स्वास्थ्य मन्त्री खेमबहादुर सारु तथा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले मंगलबार एक कार्यक्रमबिच संयुक्त रूपमा पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरेका हुन् । यससँगै पाल्पा नेपालकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला बनेको छ ।
घरमै सुत्केरी हुने दर शून्यमा झरेपछि सबै मापदण्ड पूरा गर्दै पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यहाँका दुई नगरपालिका र आठवटै गाउँपालिकाले पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिसकेपछि जिल्लालाई नै नेपालको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गर्न सम्भव भएको स्वास्थ्य कार्यालयले जनाएको छ । घोषणासभामा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको पाल्पा जिल्ला नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा हुनु गौरवको विषय भएको बताए । प्रदेश सरकारले चालु आवमा स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको आगामी बर्ष पनि प्राथमिकतामा राखेको उनको भनाई छ । सभामुख तुलाराम घर्तिमगरले घोषणा गरिएका कार्यक्रमलाई दिगोपना प्राथमिकतामा राख्नुपर्ने बताए । अझै पनि मन्त्री, संसादहरुको मुख्य ध्यान विकास भनेकै पुर्वाधार मात्र हो भन्ने सोच बदलेर स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नु पर्नेमा उनले जोड दिए । स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश भरीका १४ वटा प्रमुख अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उपकरण, जनशक्ति सहितको पुर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उपचार पद्धतीसँगै रोकथाम प्रद्धतीलाई ध्यानमा राखेर प्रदेश सरकारले काम गर्दै आएको मन्त्री सारुले बताए ।
जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकास्थानीय सरकार, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्था र समुदायबीचको सहकार्यले मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुगेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति सुमन गैरे, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले सबैको सहयोग सहकार्य,समन्वयबाट नै पाल्पालाई नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनाउन सकिएको बताए । कार्यक्रममा बरिष्ठ खोप फोकल पर्सन विश्वनाथ न्यौपाने, खोप सुपरभाईजर अधिकृत देवेन्द्र गुरुङ्ग र पव्लिक हेल्थ नर्स शान्ती भण्डारीलाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो । घोषणासभाको जिल्ला प्रजनन् तथा खोप समन्वय समिति पाल्पाका संयोजक टंकनाथ खनालको अध्यक्षता, स्वास्थ्य कार्यालय पाल्पाकी पब्लिक हेल्थ नर्स शान्ती भण्डारीको सञ्चालनमा भएको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार सातै प्रदेशमध्ये लुम्बिनी प्रदेशमा मातृ मृत्युदर सबैभन्दा बढी रहेको थियो । नियमित गर्भ परीक्षण नगर्नु, घरमै प्रसूति गराउनु तथा विशेषज्ञ सेवामा पहुँच नपुग्नु यसको मुख्य कारण मानिएको थियो । त्यसपछि लुम्बिनी प्रदेश सरकारले सुरक्षित मातृत्व अभियान सञ्चालन गर्दै संस्थागत सुत्केरीलाई प्राथमिकता दिएको थियो । घरधुरी सर्भेक्षणमा २ हजार १ ३९ जना महिलाले प्रोटोकल अनुसार ४ पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामा २ हजार २ सय ६२ जना महिलाले प्रसूति गराएको, घरमा प्रसूति गराउने गर्भवती महिलाको संख्या शुन्य रहेको, बाटोमा प्रसूति गराएको संख्या शुन्य रहेको, अन्य स्थानमा प्रसूति गराएको संख्या शुन्य रहेको र प्रोटोकल अनुसार ३ पटक प्रसूति जाँच गराएको महिलाको संख्या २ हजार २ सय ७ रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले प्रतिवेदनमा जनाएका छन् । लुम्बिनी प्रदेश सरकारको “पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका तथा जिल्ला घोषणा एवं सुनिश्चितता मापदण्ड २०८०” अनुसार आवश्यक सबै सूचक पूरा भएपछि पाल्पाले यो उपलब्धि हासिल गर्न सफल भएको हो ।
जिल्लामा पछिल्ला वर्षहरूमा घरमै सुत्केरी हुने दर निरन्तर घट्दै गएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ३ सय ९४ जना घरमै सुत्केरी भएका थिए भने २०७६/७७ मा यो संख्या २ सय ४३, २०७७/७८ मा २ सय ३, २०७८/७९ मा १ सय १९ र २०७९/८० मा २८ मा झरेको थियो । आर्थिक वर्ष २०८१/८२ मा भने घरमै प्रसूति हुने संख्या पूर्ण रूपमा शून्यमा पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।यो उपलब्धि हासिल गर्न स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको महत्वपूर्ण भूमिका रहेको छ । नियमित गर्भजाँच, सुरक्षित मातृत्व, पोषण तथा जोखिमबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलो अभियानमार्फत गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रेरित गरेका थिए ।

