पाल्पा, आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।
दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । मानिसलाई उच्च रक्तचाप भएको समेत थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोग सम्बन्धी पठनपाठनको व्यवस्था र समुदायस्तरमै परीक्षण गर्नुपर्ने विज्ञ बताउँछन् । आधारभूत स्वास्थ्य परीक्षण गराउँदा कुनै समस्या देखिए सामान्य औषधिको प्रयोगबाट पनि रोग नियन्त्रण गर्न सकिने भएकाले समुदायस्तरमा जनचेतना फैलाउनुपर्ने चिकित्सकहरुको जोड रहेको छ । अति व्यस्त र मानिसको महत्वाकांक्षी सोचका कारण स्वास्थ्यलाई ध्यान नदिने र आम्दानीलाई प्राथमिकतामा राख्ने प्रवृत्तिका कारण पनि उच्च रक्तचाप लगायत नसर्ने रोग बढिरहेको छ ।
रक्तचाप भनेको के हो ?
मुटुले पम्प गरेको रगत नलीबाट मानव शरीरका विभिन्न भागमा पुग्छ । मुटुले पम्प गर्दा एक प्रकारको चाप निस्किन्छ । जुन मुटुको नसामा बग्दा नसामा दिने पे्रसर नै रक्तचाप हो। यो चाप विशेष प्रकारको यन्त्रबाट नापिन्छ ।
उच्च रक्तचाप हुनुको कारण के हो ?
सबैको कारण थाहा हुँदैन । तर केही व्यक्तिमा थाहा हुन्छ । वंशाणुगत रूपमा सो समस्या छ भने उमेर बढ्दै जाँदा देखिने हो । त्यसैगरी प्राकृतिक रूपमै उमेरसँगै नसाहरू खुम्चिँदै जाँदा यो समस्या बढ्दै जान्छ । आफ्नै कारण, मिर्गौला रोगका कारण, सिस्टेलिक रोग, थाइराइड तथा हर्मोनका बिरामीमा पनि उच्च रक्तचाप बढी हुन्छ । धेरैलाई निश्चित उमेर पुगेपछि रक्तचाप देखिन्छ । आफ्नै कारणले पनि उच्च रक्तचाप बढेको हुन सक्छ । विभिन्न कारणले शरीरमा १० प्रतिशतमा यो समस्या देखिन्छ । उमेरमै उच्च रक्तचाप देखिनुको मुख्य कारण व्यक्तिले अपनाएको जीवनशैली नै हो । आरामदायी जीवन, धुमपान तथा मध्यपान अत्यधिक गर्ने, व्यायाम नगर्ने, चिल्लो तथा बोसोजन्य खानेकुरा बढी खाने, खानपानमा ध्यान नदिने, तौल नियन्त्रण नगर्ने, कोलस्टूोल तथा सुगरको मात्रा बढ्दै जानेहरूमा पनि उच्च रक्तचाप बढेको देखिन्छ । विकसित मुलुकले यो समस्यालाई पहिल्यै व्यवस्थापन गरिसकेका छन् भने हाम्रो जस्तो विकासोन्मुख देशमा बढ्दै छ । तेस्रो विश्वका मुलुकहरूमा यो समस्या बढ्दो देखिन्छ । मस्तिष्कको नसामा रक्तसञ्चार बन्द हुन सक्छ, मुटुको धमनी फुट्ने, आँखाको दृष्टि नसामा असर पुग्ने र महत्पूर्ण अगंहरूलाई समाउन सक्छ । साथै मिर्गौला फेल हुने, पक्षघात, बे्रन हेमरेज हुने जस्ता समस्या पनि देखिन सक्छ । रक्तचाप एउटा माध्यम हो, यसको असर विभिन्न अंगमा विभिन्न तरिकाले आउन सक्छ । उच्च रक्तचाप भएका सबैलाई अन्य अंगमा असर नगर्न पनि सक्छ ।


