पाल्पा, आज विश्व दूरसञ्चार दिवस । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरी विश्वभर ५७ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्षको मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
विश्वमा दूरसञ्चार सेवा विकास, विस्तार, सञ्चालन र नियमनको प्रभावकारी व्यवस्था होस् भन्ने उद्देश्यले सन् १८६५ मे १७ मा अन्तर्राष्टिूय टेलिग्राम युनियन जन्म भएको थियो । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वमा दूरसञ्चार सेवा (भ्वाइस, डाटा, दृश्य प्रसारण) को विकास र विस्तारमा समाजमा देखापरेका समस्या सुल्झाउने तथा देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा सक्दो सहयोग पुर्याउने हो । यस क्षेत्रका नीति निर्माता नियामक संस्था सेवाप्रदायक र उपभोक्ताबीचको जनचेतना जागृत गराउनु र सोहीअनुसार सेवा विस्तार गर्नु हो । सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो । सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्ने गरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो । सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई बिस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरिएको थियो । सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भएको हो । अहिलेको अवस्थामा टेलिकम सेवा प्रदायकले संस्थाहरुको क्षमतामा ह्रास आई सूचना तथा सञ्चार प्रविधिको क्षेत्र तहसनहस हुने जोखिम उच्च हुने देखिन्छ । तसर्थ समयमै उपयुक्त कदम चाली सूचना तथा सञ्चार प्रविधिमा लगानी बढाए मात्र नेपालले डिजिटल नेपाल तथा विश्व दूरसञ्चार दिवस मनाउनुको सार्थकता रहने छ ।


