Shittalpati
पाल्पामा २५७० औं बुद्ध जयन्तीको अवसरमा बुद्धको रथयात्रासहित विविध कार्यक्रम

पाल्पा, शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं बुद्धजयन्ती शुक्रबार पाल्पाको तानसेनमा विभिन्न धार्मिक कार्यक्रम गरी  सम्पन्न गरिएको छ ।  बुद्ध जयन्तीको मुख्य दिन हिजो तानसेनमा विशेष रथयात्राको आयोजना गरी नगर परिक्रमा गराइएको थियो । महाचैत्य विहार, टक्सारबाट निकालिएको भगवान बुद्धको भव्य रथयात्राले तानसेन नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । रथयात्राको क्रममा सडकको दुवै किनारमा बसेका भक्तजनहरूले भगवान बुद्धको पूजा–आजा गर्दै विश्व शान्तिको कामना गरेका थिए । रथयात्राका सहभागीहरूले बुद्धका उपदेशहरू अंकित झण्डा र ब्यानर प्रदर्शन गर्दै नगरमा शान्तिको सन्देश फैलाएका थिए । आजै धर्मचक्र बौद्ध युवा संघको आयोजनमा १ हजार ५ सय बालबालिकाहरुलाई कल्प बृक्ष दान कार्यक्रम गरेको छ ।

२५७० औं बुद्धजयन्तीको अवसरमा गएको  वैशाख १४ गतेदेखि  साताव्यापी विभिन्न कार्यक्रमहरू भएका छन् ।  तानसेनमा रहेका  आनन्द विहार, धर्मचक्र महाविहार, महाचैत्य विहार लगायतका विभिन्न विहारहरूमा हरेक दिन शील प्रार्थना, बुद्ध पूजा र धर्मदेशनाका कार्यक्रमहरू भएको बुद्ध जयन्ती मुल समारोहका संयोजक मदनलाल बज्राचायले बताए । वैशाख १४ गते आनन्द विहारबाट बुद्धजयन्तीको अवसरमा  शान्ति पदयात्रा निकालिएको थियो ।  

विद्यार्थीहरूका लागि  बुद्ध जीवनी निबन्ध, बुद्ध सामान्य ज्ञान र अन्तर मा.वि. जिल्लास्तरीय बुद्ध चित्रकला प्रतियोगिताहरू भव्य रूपमा सम्पन्न भई विजेताहरूलाई पुरस्कार वितरण भएका छन् ।  मिसन अस्पताल र निल सागर सेवा आश्रममा फलफूल तथा भोजन दानका कार्यक्रमहरू  भएका छन् । वैशाख १७ गते साँझ सिद्धार्थ राजमार्गको चिउरी पहाडदेखि तानसेन बजारसम्म शान्ति दीप यात्रा र दीप प्रज्वलन गरिएको थियो । यस पटकको बुद्ध जयन्तीले धार्मिक सहिष्णुता र शान्तिको सन्देश प्रवाह गर्न सफल भएको स्थानीय आयोजकले बताएका छन् ।  वैशाख १९ गते दम्कडास्थित दृष्टि विहीन विद्यार्थीहरूलाई भोजन दान गराउने कार्यक्रमसँगै यस वर्षको बुद्ध जयन्तीका कार्यक्रमहरू पूर्ण हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update