Shittalpati
जात्रा–पर्व संरक्षणमा पाल्पा उद्योग वाणिज्य संघको चासो

पाल्पा, पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले पाल्पाका ऐतिहासिक जात्रा– पर्वहरुको संरक्षणमा चासो देखाएको छ । संघले इतिहास बोकेका यहाँका सांस्कृति, चाडपर्व, जात्राहरु आर्थिक अभावका कारण  विस्तारै हराउँदै जान थालेपछि संरक्षणमा चासो देखाएको हो ।

उद्योगी व्यवसायीहरुको हकअधिकार, तानसेनको पर्यटन, खानेपानी जस्ता क्षेत्रमा उल्लेखीय रुपमा काम  गर्दै आएको संघले अहिले जिल्लाको कला, संस्कृति, पर्वहरुको संरक्षणमा समेत आफुलाई अग्रस बनाएको छ । उसले आर्थिक अभावका बावजूद पनि यहाँका जात्रा–पर्वहरुलाई निरन्तरता दिर्दै आएका संघ, संस्था र समूहहरुलाई आर्थिक सहयोग गरेको छ । विगतमा जस्तै संघले यस वर्ष पनि जात्रा– पर्वहरुका लागि ७६ हजार आर्थिक सहयोग गरेको छ । उसले बुधबार एक औपचारिक  कार्यक्रम गरी जात्रा– पर्वका लागि आर्थिक रकम सहयोग गरेको हो । संघले श्री ७ रणउजिरेश्वरी भगवती (अक्षयकोष)  लागि २५ हजार, पाल्पाली नाट्यकला साँस्कृतिक समुह (लाखे, चुईकी)का लागि ४ हजार, नेवा दय् दबु पाल्पालाई २ हजार ५ सय, नारायण युवा क्लव (शिवरात्री अक्षयकोष) का लागि ५ हजार, नेवा गुठी, तानसेन (सामुहिक ईहि) का लागि २ हजार, श्री ७ वटुक भैरव गुठी (रथ यात्रा)का  लागि ५ हजार, श्री ७ काल भैरव गुठी (रथ यात्रा)का लागि ५ हजार,  श्री ७ भिमसेन मन्दिर, भगवती टोल (रथ यात्रा)का लागि २ हजार ५ सय, टक्सार काल भैरव लाखे (लाखे नाँच)का लागि २ हजार ५ सय आर्थिक सहयोग गरेको छ । यस्तै चण्डेश्वरी युवा क्लव, रिब्दीकोट (विविध कार्यक्रम)का लागि  ३ हजार, वेशी टोल विकास संस्था, काजीपौवा (रोपाई जात्रा)का लागि ५ हजार, नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (कृष्ण जन्माष्टमी) का लागि २ हजार ५ सय, श्री कृष्ण जन्माष्टमी महोत्सव उ.स.का लागि ४ हजार, पाल्पाली लाँखे चुईकी युवा समुह (राजकुमार गन्धर्व)का लागि ३ हजार र प्रभातकालिन प्रसाद वितरण समिति (महाचैत्य विहार) का लागि ५ हजार संघले सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक संघका अध्यक्ष समिरमान सिंह, निवर्तमान अध्यक्ष, शैलेन्द्र भट्टराई, संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासघं लुम्बिनी प्रदेशका एशोसियट उपाध्यक्ष राजु महर्जन, संघका पुर्व अध्यक्ष हरी रायमाझी लगायतले जात्रा–पर्वहरुलाई निरन्तरता दिर्दै आएका संघ, संस्था र समूहहरुका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दैं संघका अध्यक्ष सिंहले जिल्लाका कला, संस्कृति, जात्रा, पर्वहरु जिल्लाका गहना भएकाले तिनीहरुलाई जिवन्त राख्न थोरै भए  पनि संघले आर्थिक सहयोग गरेको बताए । उनले भने “हामीहरुले उद्योगी, व्यवसायीहरु र पर्यटन क्षेत्रको विकासमा मात्र हैन, ऐतिहासिक धरोहरका रुपमा रहेका कला, संस्कृतिको जर्गेना गर्ने काममा समेत विगतदेखि सहयोग गर्दै आएका छौं ।” सहयोग रकम ग्रहण गर्दै श्री ७ रणउजिरेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान  महर्जनले संघले आफनो क्षमता अनुसार जुन सहयोग गरेको छ, त्यो प्रशंसनिय रहेको बताए । संघका अध्यक्ष समिरमान महर्जनको अध्यक्षता, वाणिज्य उपाध्यक्ष रञ्जना अर्यालको धन्यवाद ज्ञापन, महासचिव विनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

जात्रा– पर्व हराउँदै गएकोमा चिन्ता
तानसेन बजार नेवारी समुदायको बाहुल्य भएको सहर हो । यहाँ घरैपिच्छे मन्दिर तथा देवालय छन् । वर्षको सुरुआतमा मनाइने बटुक भैरव जात्रादेखि लिएर अन्तिममा मनाइने चैतेदसंै जात्रा गरी यहाँ वर्षभरी नै जात्रा चलिरहन्छ । यहाँ विगतदेखि नै गाई जात्रा, रोपाई जात्रा, बाघ जात्रा, ऐतिहासिक भगवती जात्रा जस्ता महत्वपूर्ण जात्राहरु हुँदै आएका छन् ।  संस्कृतिले ओतप्रोत तानसेन अहिले शून्यप्रायः छ । पहिले वर्षभरि नै स्वतस्फूर्त रूपमा बजारमा शात्रीय संगीत घन्कन्थ्यो । अग्रज कलाकारले भजन मण्डली बनाएर भजन, राग गाउँदै मृदंग र मुजुराको तालमा बजार परिक्रमा गर्थे । अहिले मौलिक परम्परा धेरै लोप भइसकेका छन् । पछिल्लो समयमा तानसेनका चाडपर्व र जात्राहरु हराउदै जान थालेकाले यसको संरक्षणमा सबै पक्षले ध्यान दिनुुपर्ने आवाज समेत उठ्न थालेको छ । जात्रा पर्व मनाउन खर्चिलो हुने भएकाले यीनिहरु विस्तारै हराउँदै जान थालेको तानसेनवासीहरुको गुनासो छ । उनीहरुले मठमन्दिर जीर्ण हुँदै गएको ,संरक्षणको अभावमा कतिपय इतिहास बोकेका सम्पदाहरु समेत लोप भइसकेका भन्दै चिन्ता व्यक्त गरेका छन् । केही गुठी र स्थानीय टोल समूह मिलेर सामान्य रूपमा परम्परा धान्ने काम गरे पनि जात्रा पर्व र मठमन्दिरको उचित संरक्षण हुन नसकेको स्थानीयहरुको भनाई छ । उनीहरुले इतिहास बोकेका परम्परा र संस्कृतिको सम्वद्र्धनमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुुपर्ने बताउँदै आएका छन् ।

 
 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update