Shittalpati
गुल्मीको इस्मा गाउँपालिकाले टुंगो लगायो केन्द्र

गुल्मी, जिल्लाको इस्मा गाउँपालिकाले लामो समयपछि केन्द्रको टुंगो लगाएको छ । पालिकाले वडा नम्बर ५, चापटारीमा केन्द्र राख्ने विषयमा टुँगो लगाएको हो । चापटारीमा सम्पन्न गाउँ सभाको बैठकले सर्वसम्मत रूपमा केन्द्र तोक्ने निर्णय गरेसँगै करिब ९ वर्षदेखि चल्दै आएको अन्योल हटेको छ ।

अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा विवादित बनेर यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । केही समयअघि मात्रै सर्वोच्च अदालतले केन्द्र टुंगो लगाउने जिम्मा सम्बन्धित पालिकालाई नै हुने फैसला गरेपछि वर्तमान जनप्रतिनिधिले केन्द्रसम्बन्धी निर्णय अगाडि बढाउने अधिकार पाएका हुन् । गाउँपालिका अध्यक्ष भगत सिंह खड्काको अध्यक्षतामा सोमबार बसेको गाउँसभा बैठकले वडा नम्बर ५ चापटारीमा केन्द्र सर्वसम्मत टुंगो लगाएको गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अधिवक्ता पार्वती कुँवरले जानकारी दिइन् । यसअघि कार्यपालिका बैठकले पनि सर्वसम्मत केन्द्र चापटारीमा राख्ने निर्णय गरेको थियो । उनले इस्माका लागि यो ऐतिहासिक निर्णय र उपलब्धि भएको बताइन् ।

स्थानीय तह पुनर्संरचनापछि भाडाको संरचनाबाट सेवा सञ्चालन गर्दै आएको गाउँपालिकाले अब आफ्नै स्थायी प्रशासनिक केन्द्र निर्माण गर्ने बाटो खुलेको छ । चापटारीमा गाउँपालिका केन्द्र बनाउने प्रस्ताव एमालेका पोमप्रसाद भुसालले पेस गरेका थिए भने नेपाली कांग्रेसका ढालबहादुर कुँवरले समर्थन गरेका थिए । गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले यो निर्णय इस्माको समग्र विकासका लागि महत्वपूर्ण कोसेढुंगा भएको बताए । अब आफ्नै प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ केन्द्रित हुने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update