Shittalpati
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

पाल्पा,आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ । सन् १९६९ मा सनफ्रान्सिस्कोमा भएको युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाका लागि एक दिनको माग गरेका थिए । तर, पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे ।

पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिएको हो । करिव ६ अर्ब मानिससँगै रहेका करौडौँ प्रजातिका वनस्पति, लाखौँ उभयचर, चराचुरुङी, घ्रर्सने जनावर, एक कोषीयदेखि बहुकोषी जीवहरुको साझा बासस्थान हो, पृथ्वी । ब्रम्हाण्डमा जीवन्तु अरु कहि छ त पृथ्वीमा छ । त्यसैले यो आफैँमा महत्व छ । तर पृथ्वीमाथि मानिसको अव्यवस्थित दोहनले यो चपेटामा परेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ । अहिले जमिन मरुभूमीकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लिरहेको, आगलागी, वन विनाश जस्ता घटनाले पृथ्वी संकटमा छ । पृथ्वीको संरक्षणबारे वेलैमा चासो नदिने हो भने भविष्यमा यसले विकराल रूप लिने निश्चित छ । जलवायु परिवर्तनका कारण दिनप्रतिदिन बढिरहेको पृथ्वीको तापक्रमलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरू बताउँछन् । जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सके मात्र पृथ्वीको संरक्षण हुन सक्छ । वातावरण संरक्षणमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण गर्नुभन्दा पनि यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो । सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनु हो ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update