पाल्पा, आज ‘राष्ट्रिय याक दिवस’ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । याकको जैविक, आर्थिक र सामाजिक महत्वलाई उजागर गर्दै यसको संरक्षण, प्रजनन सुधार तथा हिमाली क्षेत्रका समुदायहरूको समृद्धिमा याकको योगदानलाई प्रवद्र्धन गर्न हरेक वर्ष वैशाख ७ गते यो दिवस मनाउने गरिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ सालको आश्विन २ गतेको निर्णयअनुसार प्रत्येक वर्ष वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । नेपालमा उत्पादन हुने विश्वप्रसिद्ध याक चिज ‘ओमेगा–३’ फयाट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दुग्ध परिकारका रूपमा रहेको, चौँरीको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रही आएको छ । याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तु सूचीमा राखेको छ ।
सरकारले याक चौरीको विशेष महत्वलाई आत्मसाथ गर्दै वि.सं. २००९ मा रसुवाको लाङटाङमा याक चिज उत्पादन केन्द्र स्थापना गरेको थियो । त्यसैगरी याकको संरक्षण, प्रवद्र्धन र दिगो उपयोगको लागि सोलुखुम्बु जिल्लाको स्याङ्बोचेमा लागिवि.सं. २०३० बैशाख ७ गते याक आनुवांशिक स्रोत केन्द्र (तत्कालीन चौँरी विकास फार्म) को स्थापना भएको हो । हाल यस केन्द्रले याकको न्यूक्लियस हर्ड संरक्षण, आनुवांशिक सुधार, अनुसन्धान र प्रविधि विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तीनै तहका सरकारहरू, निजी क्षेत्र, सहकारी तथा गैह्र सरकारी क्षेत्रको समन्वयमा काम गर्न सकेमा मात्र याकपालन व्यवसायको प्रवद्र्धन र विकास मार्फत हिमाली तथा उच्च पहाडी क्षेत्रमा आर्थिक योगदान एवं रोजगारी सिर्जनामा अपेक्षित उपलब्धी हासिल हुन सक्दछ । जलवायु परिवर्तनका कारण घट्दै गइरहेका चरन भू–भागहरूको पुनःस्थापनाका लागि सामुदायिक वनसँग सहकार्य गर्दै तत्काल दिगो चरन क्षेत्रको प्रबन्ध गर्न आवश्यक देखिन्छ। याकजन्य उत्पादन घ्यू, उन, दूध को ब्रान्डिङ, प्रशोधन र बजार व्यवस्थापनका लागि हिमाली जैविक उत्पादन अभियानसञ्चालन गर्नसके निर्यात प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ ।


