पाल्पा,सरकारी अस्पतालमा पनि साताम दुई दिन बिदा कायम हुने भएको छ । अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू चौबिसै घण्टा सञ्चालनमा राख्दै शनिबार र आइतबार अस्पतालहरूमा सार्वजनिक बिदा हुने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै चैत २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गर्ने जानकारी दिएको हो । स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ’हप्तामा दुई दिन सार्वजनिक बिदा’ को नीति अनुरूप आइतबारका पूर्व–निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैँझैँ चौबिसै घण्टा सुचारु रहने मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती हुन नदिन अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
यसअघि मन्त्रालयले बिरामी मर्कामा पर्ने भन्दै आइतबार पनि ओपीडी खुला राख्न अस्पतालहरूलाई आग्रह गरेको थियो । तर चिकित्सक संघले त्यसमा असमर्थता जनाएपछि सरकारले आइतबार पनि बिदा कायम गर्ने निर्णय गरेको हो । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन हुँदा पनि स्वास्थ्य सेवामा कुनै अवरोध नआउने जनाएको छ । अस्पतालहरूमा आकस्मिक र अन्तरंग सेवा भने सधै झै २४ घण्टा सञ्चालनमा रहने उल्लेख गरिएको छ । मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णय अनुसार लागू भएको दुईदिने बिदा व्यवस्थालाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गरिने मन्त्रालय जनाएको हो । आइतबारका लागि तय भएका शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको सुविधाअनुसार पुनः तालिका बनाइने पनि जनाइएको छ ।


