Shittalpati
मानव अन्तरिक्ष विमान दिवसको औचित्य

हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा  अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस  नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ । ६५ वर्ष अगाडि अन्तरिक्ष यात्री यूरी गागरीन भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १ सय ८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो । त्यो सुखद् क्षणलाई हरेकमाझ स्मरण गराउनका लागि यो दिवस मनाउने गरिएको हो भन्दा फरक पर्दैन् ।

सन २०११ को अप्रिल ७ को संयुक्त राष्ट्रसंघको महासभाको ६५ औं संस्करणले समेत प्रत्येक वर्ष अप्रिल १२ लाई यो दिवसका रुपमा मनाउने निर्णय सदर गरेको थियो ।  सो निर्णयसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो । रुसले यस दिवसलाई ‘कसमेनोटिक्स डे’का रूपमा मनाउँदछ भने पूर्व सोभियत संघका कतिपय राज्य र ठाउँहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर पनि मनाउने चलन छ । जे भएपनि यो दिवसको मूल मर्म भनेको मानव अधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्नु नै हो । यस दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर समेत गरेको छ । अहिलेको युगमा मानिस अन्तरिक्षमा पुग्न सफल हुनुलाई यसको एउटा कडीको रुपमा लिइन्छ । अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधिको सहायताले मानव आज मंगल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । यसलाई अत्यन्त सकरात्मक रुपमा लिनुपर्छ । आजको प्रविधिलाई सही रुपमा प्रयोग गरी देश र जनताका लागि समर्पित हुन पनि आजको दिनले महत्वपूर्ण भूमिका खेल्दछ । यसर्थ आजको दिनमा मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूका बारेमा चर्चासँगै आगामी दिनमा गर्न सकिने सम्भावना चुनौतीहरूका विषयमा व्यापक समिक्षा र छलफल गर्न सकियो भने मात्र यो दिवस मनाउनुको औचित्य रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update