Shittalpati
अनावश्यक आयातलाई नियन्त्रण गर

नेपालमा सधैजसो आयात बढ्दो नै रहने गरेको । यो सकरात्मक पक्ष भने पक्कै हैन । आयाततर्फ सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ तथा इन्धनको छ । चालु आर्थिक वर्षको आठ महिना अर्थात् फागुनसम्म २ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँबराबरको पेटूोलियम पदार्थ आयात भएको छ । यसमा ८२ अर्ब १० करोडको डिजेल, ४३ अर्ब ८९ करोडको पेट्रोल र ३७ अर्ब ३१ करोडको ग्यास तथा १३ अर्ब ३३ करोडको हवाई इन्धन आयात भएको छ । यस्तै २९ अर्ब ९३ करोडको स्मार्टफोन, २३ अर्ब ४९ करोडको सुन आयात भएको छ । नेपालमा ९१ अर्ब ९७ करोडबराबरको मेसिनरी र मेकानिकल उपकरण, ८९ अर्ब ७४ करोडका फलाम र स्टिल तथा विद्युतीय मेसिनरी र उपकरणको आयात ८८ अर्ब २३ करोडको भएको छ । सवारी साधन आयातमा ७३ अर्ब ४६ करोड र ५४ अर्ब ८४ करोडका बहुमूल्य धातु, सुन र पत्थरको आयात भएका छन् । यस्तै रासायनिक मल आयातमा पनि ४५ अर्ब ८१ करोड रुपैयाँ बाहिर गएको छ । यो सकरात्मक पक्ष भने पक्कै हैन । तर गत वर्षको सोही समयको तुलनामा भने निर्यातमा केही सुधार भने देख्न सकिन्छ ।

चालु आर्थिक वर्षको आठ महिनाम १ खर्ब ९१ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष यो बेलासम्म १ खर्ब ५८ अर्बको निर्यात पुगेको थियो । गत वर्षसँग तुलना गर्दा यो वर्ष ३३ अर्ब रुपैयाँबराबर निर्यात बढेको हो । यो झन्डै २१ प्रतिशतले धेरै हो । औसत रूपमा हेर्दा निर्यात प्रतिमहिना २३ अर्ब ८७ करोड र दैनिक ७९ करोड ५८ लाख रुपैयाँ देखिन्छ । तर यो सन्तोष मान्न सक्ने अवस्था भने हैन । आयात बढ्नु कुनै पनि मुलुकका लागि राम्रो होइन । कस्ता वस्तु ल्याएका कारण आयात बढेको हो, त्यसलाई हेर्नुपर्छ । त्यसमा पनि उपभोग्य र विलासिताका वस्तुको आयात बढ्नु झनै नराम्रो पक्ष हो । उपभोग्य र नचाहिँदा वस्तु आयात गर्दा सरकारको राजस्व त बढ्ला, केही व्यापारीहरूको कारोबारमा वृद्धि पनि होला, तर समग्र अर्थतन्त्रका लागि यो राम्रो भने पक्कै हैन । आयात बढे पनि निर्माणजन्य वस्तु अथवा औद्योगिक कच्चा पदार्थ, मेसनरी, पार्टपुर्जाजस्ता वस्तुको आयात बढेको भए मात्र मुलुकका लागि फाइदाजनक हुने थियो । जुन वस्तुले आन्तरिक उत्पादन बढाउन सहयोग पु¥याउँछ त्यस्ता वस्तुको आयात बढ्नुपर्छ । तसर्थ सरकारमा बस्नेहरूले अनावश्यक आयातलाई नियन्त्रण गरी वस्तु निर्यातमा ध्यान दिनु जरुरी छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update