हिमाल, नदी, ताल, झरना, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, खोला तथा वनजङ्गल नै नेपालका प्राकृतिक सम्पदाहरू हुन् । ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले नेपाल विश्वमा छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालमा थुप्रै ऐतिहासिक सम्पदाहरु रहेका छन् । ति मध्ये पाल्पाको रानीमहल, गोरखाको दरबार, वसन्तपुर, पाटन, भक्तपुरका मल्लदेखि शाह समयका दरबार, राणाकालमा बनेका युरोपेली शैलीका दरबारहरू सिंहदरबार, शीतल निवास, सेतोदरबार, लालदरबार जस्ता इतिहास बोकेका प्रशस्तै दरबार नेपालमा छन् ।
उपत्यकाबाहिरका बाइसे चौबिसे राज्य समयका दरबार वा काठमाडौँकै लिच्छविकालका बेलाका दरबार पनि छन् । त्यस्तै नेपालमा विभिन्न धार्मिक स्थलका सम्पदा पनि धेरै छन् । मुख्यतया हिन्दु र बुद्ध धर्मसँग सम्बन्धित सम्पदा धेरै भए पनि किराँत, प्रकृति, बोन जस्ता सनातनदेखिका धार्मिक सम्पदाहरू देशभरि छरिएको छ । संसारका सबै हिन्दुको पवित्र धाम पशुपतिदेखि बुद्धको जन्मथलो लुम्बिनीले हजारौँ पर्यटकलाई नेपाल भित्र्याएको छ । स्वयम्भू, बौद्धनाथदेखि हनुमानढोकासम्म, बुढानीलकण्ठदेखि चार नारायणसम्म अनि मुक्तिनाथदेखि स्वर्गद्वारीसम्म जताततै विश्वविख्यात धार्मिक सम्पदाहरू छन् । नेपालका हिमाल, नदी, ठूलठूला पाटन, ताल, चराचुरुङ्गी र विविध रुख बिरूवा भएका देशभरि फैलिएका वनजङ्गल पनि आकर्षक प्राकृतिक सम्पदा नै हुन् । तर राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाका कारण नेपालामा रहेका अनेक बहुमूल्य प्राकृतिक सम्पदाहरू नष्ट भइरहेका छन् भने अन्य त्यस्तै सम्पदाहरू अति जोखिममा परेका छन् । अन्य सम्पदाहरूको तुलनामा यहाँका भौगर्भिक सम्पदाहरू अझै बढी जोखिममा परेको पाइएको छ । सडक विस्तार तथा खोलामा भइरहेको मानवजन्य अव्यवस्थित क्रियाकलापले नेपालमा भौगर्भिक संरचना र सम्पदा लोप हुँदै गएका छन् । सडक विस्तारका क्रममा चोइट्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदाप्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । हामी को हौं र कहाँ कसरी आयौं लगायतका मुख्य विवरण अनि इतिहासहरु जोगाउनको लागि पनि सम्पदाहरुको सरक्षण गर्न जरुरी छ ।

