Shittalpati
पाल्पाका ६ सय १२ बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराइयो

पाल्पा, जिल्लाका  ६ सय १२ जना बालबालिकालाई पहिलो पटक आर्युर्वेदिक ‘स्वर्णविन्दु प्राशन’ गराइएको छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने अभियानका साथ  लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रले  एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएको हो ।

स्वर्ण प्राशन संस्कार जडिबुटी जस्तै मह, अश्वगंधा, शंखपुष्पी, वाचा आदिलाई सुनसँग मिसाएर तयार पारिएको रसायन हो । जुन पुष्य नक्षत्रको शुभ साइतमा लिने गरिन्छ । स्वर्ण प्राशन संस्कार बच्चाहरूको शारीरिक र मानसिक गतिमा सुधार ल्याउने संस्कार हो। लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बालबालिकालाई स्वर्णविन्दु प्राशन थोपा खुवाई पाल्पामा यो  अभियानको शुरुवात गरेका हुन्  । आयुर्वेदमा स्वर्णबिन्दु प्राशनलाई बालबालिकाका लागि एक शक्तिशाली औषधी  मानिन्छ,  यसको नियमित सेवनले बालबालिकामा रोगसँग लड्ने  प्रतिरोधात्मक क्षमता बढाउने, मस्तिष्कको विकास बढाउने,  स्मरण शक्ति बढाउने र बालबालिकाको शारीरिक र मानसिक विकासका लागि एक सुरक्षा कवच भएकोले यो कार्यक्रम शुरु गरिएको मन्त्री सारुले बताए ।

अहिले पहिलो चरणमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सदरमुकाम केन्द्रित कार्यक्रम भएपनि आगामी बर्षदेखी  जिल्लाका गाउँ–गाउँका आर्युर्वेदिक केन्द्रहरुमा स्वर्णविन्दु प्राशसन थोपा सेवा प्रदान गरिने उनको भनाई छ । आयुर्वेद शास्त्रमा बालबालिकाको सर्वाङ्र्गीण विकासका लागि वर्णन गरिएका १६ संस्कार मध्ये ‘प्राशन’ एक महत्वपूर्ण विधि हो ।  स्वर्णबिन्दु प्राशन शुद्ध सुनको भष्मलाई मह, घिउ र विभिन्न मेध्य औषधिहरू जस्तैः वच, ब्राह्मी, शंखपुष्पी को सम्मिश्रणबाट तयार पारिने केन्द्रकी आर्युर्वेद चिकित्क डा. हौसिला धितालले बताईन् । स्वर्णविन्दु प्राशनको पूर्ण फाईदा लिन ३० थोपा सम्म बालबालिकालाई खुवाउने हुन्छ । यो दुई बर्ष सम्मका बालबालिकालाई एक पटकमा दुई थोपा, दुई बर्षदेखी पाँच बर्ष सम्मको बालबालिकालाई ४ थोपा खुवाउने नियम रहेको छ ।

स्वर्णविन्दु प्राशनको सेवनले  पाचन प्रणालीलाई सुदृढ बनाउनुका साथै बालबालिकामा हुने मौसमी सङ्क्रमण र भाइरल ज्वरो जस्ता समस्याबाट जोगाउन मद्दत गर्ने आर्युवेद चिकित्सकहरुले बताउने गरेका छन । स्वर्णविन्दु प्राशन चैत्र १४ गते देखी असार मसान्त सम्म  नियमित रुपमा बालबलिकालाई खुवाईने केन्द्रका कार्यालय प्रमुख माधव प्रसाद बस्यालले बताए । “हामिले पहिलो पटक  ५ सय बलबलिकाहरुलाई स्वर्णविन्दु प्राशसन थोपा खुवाउने लक्ष्य राखेका थियौ, अभिभावकहरु उत्साहित भएर  ६ सय १२ जनालाई औषधी सेवन गराउन सफल भएका छौं”आर्युवेद  स्वास्थ्य केन्द्रकी व्यबस्थापन समितिकी अध्यक्ष लक्ष्मी ढंगाना अर्यालले भनिन् । अब बैशाख १३ गते पुनः बालबालिकालाई स्वर्णविन्दु प्राशसन औषधी सेवन गराउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update