गुल्मी, सामान्यतया पर्याप्त स्रोत साधनको अभाव र ७० वर्षभन्दा माथिका बिरामीको शल्यक्रिया गर्न चिकित्सकहरु हिचकिचाउँछन् । यस्तो अवस्थामा बिरामीको शल्यक्रिया गर्नुलाई उनीहरु चरम जोखिम मान्दछन् । तर, गुल्मीमा सीमित स्रोतसाधनका बाबजुद पनि ७१ वर्षीया एक वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ ।
तम्घासस्थित गुल्मी अस्पतालले पहिलो पटक रेसुङ्गा नगरपालिका–८ निवासी ७१ वर्षीया तुल्सी विश्वकर्माको सफल शल्यक्रिया गरेको हो । अस्पतालले लुम्बिनी प्रादेशिक अस्पतालको विशेषज्ञ टोलीको सहयोगमा स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको जनाएको छ । विश्वकर्मालाई स्तन क्यान्सर देखिएपछि प्रारम्भिक उपचारका लागि गुल्मी अस्पतालमा चेकजाँच गरिएको थियो । थप उपचारका लागि उनलाई बुटवल रिफर गरिए पनि आर्थिक अवस्था कमजोर भएकाले बाहिर उपचार सम्भव नभएपछि पुनः गुल्मी अस्पतालमै शल्यक्रिया गरिएको गुल्मी अस्पतालका जनस्वस्थ्य निरीक्षक बोम अर्यालले बताए । अस्पतालले मासिक रूपमा लुम्बिनी प्रादेशिक अस्पतालबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सक बोलाउने व्यवस्था गर्दै आएको छ ।
सोही कार्यक्रमअन्तर्गत आएका क्यान्सर रोग विशेषज्ञ डा. सञ्जय पाण्डेको नेतृत्वमा तीन जना चिकित्सकको टोलीले विश्वकर्माको सफल शल्यक्रिया गरेको हो । अहिले बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । शल्यक्रियामा संलग्न विशेषज्ञ डा. सञ्जय पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि गुल्मी अस्पतालमा यस्ता जटिल सेवा दिन सफल भएको बताए । उनले क्यान्सरजस्तो जटिल रोगको उपचारका लागि आवश्यक उपकरण र जनशक्ति सीमित हुँदाहुँदै पनि शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको बताए । समयमै पहिचान र उपचार हुन सके बिरामीको ज्यान बचाउन सकिने उनको भनाई छ । शल्यक्रियापछि तुल्सी विश्वकर्माले आफ्नै जिल्लामै उपचार पाउँदा निकै खुसी लागेको बताइन् । बाहिर गएर उपचार गर्ने अवस्था नभएकाले यहीँ निःशुल्क रूपमा उपचार पाउँदा जीवन नै बाँचेजस्तो लागेको उनले बताइन् ।


